बूढानीलकण्ठस्थित एक क्यासिनोमा नेपाली नागरिकलाई प्रवेश गराई जुवा खेलाएको आरोपमा प्रहरीले ११ जनालाई नियन्त्रणमा लिएको छ । बूढानीलकण्ठ नगरपालिका–१, तौलुङस्थित ‘गरुड क्यासिनो’ बाट उनीहरूलाई पक्राउ गरिएको हो । उक्त क्यासिनो बूढानीलकण्ठस्थित होटल लेमन ट्रीमा सञ्चालित छ ।
नेपाली नागरिकलाई क्यासिनोभित्र प्रवेश गराई क्वाइनमार्फत नगद सटही गरेर जुवातास खेलाइरहेको सूचनाका आधारमा जिल्ला प्रहरी परिसर काठमाडौं र प्रहरी प्रभाग बूढानीलकण्ठको संयुक्त टोलीले छापा मारेको थियो ।
जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी दानबहादुर थापाका अनुसार क्यासिनोबाट जुवा खेल्न प्रयोग गरिने विभिन्न दरका क्वाइन, मोबाइल र नगद बरामद भएको छ । प्रहरीले घटनास्थलबाट १० लाख ८५ हजार ६०० रुपैयाँ नगद र ९ थान मोबाइल बरामद गरेको छ । त्यस्तै, नगद सटहीमा प्रयोग हुने ५० हजार लेखिएको क्वाईन ८ थान, १० हजार लेखिएको क्वाईन १९ थान, १ हजार लेखिएको क्वाईन ८८ थान र १०० लेखिएको क्वाईन ५ थान समेत नियन्त्रणमा लिइएको छ
पक्राउ पर्नेहरूमा काठमाडौँको कागेश्वरी मनोहरा–४ बस्ने ३४ वर्षका बिकी लामा, बौद्ध बस्ने ३९ वर्षका नुवाड शेर्पा, गोकर्णेश्वर–९ बस्ने ३९ वर्षका पासाङ शेर्पा, कागेश्वरी मनोहरा–७ बस्ने ३२ वर्षका ज्योती मगर र बानेश्वर बस्ने ३५ वर्षका नारायण खत्री रहेका छन् ।
त्यस्तै, गोकर्णेश्वर–२ बस्ने ४४ वर्षका दिल लामा, ठमेल बस्ने ४४ वर्षका अशोक लामा, गोकर्णेश्वर–५ बस्ने ३२ वर्षका संजय तामाङ, ललितपुर महालक्ष्मी–३ बस्ने ४० वर्षका आषिश खड्का, ललितपुर–६ बस्ने ४९ वर्षका सविनमान श्रेष्ठ र पेप्सीकोला बस्ने ३० वर्षका सुदिप अधिकारी पनि नियन्त्रणमा परेका छन् ।
पक्राउ परेका सबैलाई जुवासम्बन्धी कसूरमा जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट २ दिनको म्याद थप गरी अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।
नेपालको कानुनअनुसार नेपाली नागरिकलाई क्यासिनो प्रवेश र जुवा खेल्न पूर्ण रूपमा निषेध गरिएको छ ।


