चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो दुई महिनामा सरकारको कुल बजेट खर्च करिब दुई खर्ब रुपैयाँ पुगेको छ । महालेखा नियन्त्रक कार्यालयका अनुसार भदौ मसान्तसम्ममा सरकारको कुल खर्च एक खर्ब ९९ अर्ब ८३ करोड ७२ लाख रुपैयाँ पुगेको छ, जुन वार्षिक बजेट लक्ष्यको ९.४१ प्रतिशत हो ।
कार्यालयको तथ्यांकअनुसार, सरकारको खर्चमध्ये चालु खर्चको हिस्सा सबैभन्दा बढी रहेको छ । चालु शीर्षकमा चालु आर्थिक वर्षका लागि १२ खर्ब ७० अर्ब ५८ करोड ९० लाख रुपैयाँ विनियोजन गरिएकोमा भदौ मसान्तसम्ममा एक खर्ब २२ अर्ब तीन करोड ५४ लाख रुपैयाँ खर्च भएको छ । यो कुल विनियोजनको ९.६ प्रतिशत हो ।
पुँजीगत खर्च भने सुरुआती दुई महिनामा पनि न्यून देखिएको छ । पुँजीगत शीर्षकमा चार खर्ब ३१ अर्ब १० करोड ६३ लाख रुपैयाँ बजेट विनियोजन गरिएकामा हालसम्म सात अर्ब ६६ करोड ४८ लाख रुपैयाँ मात्रै खर्च भएको छ, जुन वार्षिक लक्ष्यको १.७८ प्रतिशत मात्र हो । विकास निर्माण तथा पूर्वाधार आयोजनामा अपेक्षाअनुसार खर्च हुन नसकेको तथ्यांकले देखाएको छ ।
यस्तै, वित्तीय व्यवस्था शीर्षकअन्तर्गत चार खर्ब २२ अर्ब ६४ करोड ९१ लाख रुपैयाँ विनियोजन गरिएकोमा हालसम्म ७० अर्ब १३ करोड ७० लाख रुपैयाँ खर्च भएको छ । यो शीर्षकको खर्च १६.५९ प्रतिशत पुगेको छ ।
राजस्व संकलनतर्फ भने सरकारले वार्षिक लक्ष्यको ११.५८ प्रतिशत मात्र उठाउन सकेको छ । भदौ मसान्तसम्ममा कुल एक खर्ब ९० अर्ब १० करोड ७९ लाख रुपैयाँ राजस्व संकलन भएको छ । यसरी हेर्दा पछिल्ला दुई महिनामा सरकारको खर्च आम्दानीभन्दा करिब नौ अर्ब ७२ करोड रुपैयाँले बढी रहेको देखिन्छ ।
कर राजस्वतर्फ सरकारले चालु आर्थिक वर्षमा १४ खर्ब तीन अर्ब ३१ करोड ८३ लाख रुपैयाँ उठाउने लक्ष्य राखेको छ । हालसम्म एक खर्ब ७२ अर्ब ४२ करोड ९७ लाख रुपैयाँ अर्थात् १२.२९ प्रतिशत कर राजस्व संकलन भएको छ । गैरकर राजस्वतर्फ एक खर्ब ७७ अर्ब रुपैयाँ उठाउने लक्ष्य रहेकामा १० अर्ब ७७ करोड ६९ लाख रुपैयाँ अर्थात् ६.९ प्रतिशत मात्रै उठेको छ ।
यसैबीच, प्रत्यक्ष वैदेशिक अनुदानतर्फ सरकारले ६१ अर्ब ७४ करोड ५४ लाख रुपैयाँ प्राप्त गर्ने लक्ष्य राखेकोमा भदौ मसान्तसम्ममा पाँच अर्ब ५३ करोड रुपैयाँ बराबरको अनुदान भित्रिएको महालेखा नियन्त्रक कार्यालयले जनाएको छ । सुरुआती दुई महिनाको तथ्यांकले सरकारको खर्च बढ्दो भए पनि विकास खर्च र राजस्व परिचालनमा अझै अपेक्षित गति आउन नसकेको देखाएको छ ।

