Banijya News

चालु आवको एक महिनामै भित्रियो दुई खर्ब १५ अर्ब विप्रेषण

1
1.0K Shares

चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो महिनामै नेपालमा २ खर्ब १५ अर्ब ५ करोड रुपैयाँ विप्रेषण भित्रिएको छ । नेपाल राष्ट्र बैंकका अनुसार साउनमा विप्रेषण आप्रवाह अघिल्लो वर्षको सोही अवधिको तुलनामा २१.२ प्रतिशतले बढेको हो । अघिल्लो वर्षको साउनमा विप्रेषण आप्रवाह २९.९ प्रतिशतले बढेको थियो ।

अमेरिकी डलरमा विप्रेषण आप्रवाह १०.२ प्रतिशतले वृद्धि भई १ अर्ब ४० करोड डलर पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा डलरमा विप्रेषण आप्रवाह २५ प्रतिशतले बढेको थियो ।

समीक्षा अवधिमा खुद द्वितीय आय अर्थात् खुद ट्रान्सफर २ खर्ब २९ अर्ब ९८ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय १ खर्ब ९३ अर्ब ८५ करोड रुपैयाँ रहेको थियो ।

यसैबीच, वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति लिने नेपालीको संख्या भने केही घटेको छ । साउनमा ४२ हजार ६९३ जनाले अन्तिम श्रम स्वीकृति लिएका छन्। अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ४४ हजार ४६६ थियो ।

तर, पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या भने बढेको छ । समीक्षा अवधिमा २७ हजार ७४८ जनाले पुनः श्रम स्वीकृति लिएका छन् । अघिल्लो वर्षको साउनमा यस्तो संख्या २३ हजार ६४४ थियो ।

विप्रेषण आप्रवाहमा भएको वृद्धि र वैदेशिक रोजगारीमा जाने तथा पुनः श्रम स्वीकृति लिने नेपालीको संख्याले वैदेशिक रोजगारीबाट प्राप्त हुने आम्दानीको अर्थतन्त्रमा निरन्तर महत्त्व देखाएको छ । विप्रेषणले नेपालको विदेशी मुद्रा सञ्चिति, बाह्य क्षेत्र तथा उपभोगमा समेत महत्त्वपूर्ण योगदान गर्दै आएको छ ।

राष्ट्र बैंकको तथ्यांकले नयाँ श्रम स्वीकृति लिनेको संख्या घटे पनि विदेशमा रहेका नेपालीबाट आउने विप्रेषण र पुनः श्रम स्वीकृति लिनेको संख्या बढिरहेको देखाएको छ ।

1

Scroll to Top