नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) का ७२ कारोबार सदस्यहरुको डाटा सेन्टरका रुपमा रहेको डाटा हबमा देखिएको प्राविधिक समस्या समाधान भएको छ ।
सो प्राविधिक समस्याको समाधार भएसँगै आज असोज ६ गतेदेखि पुनः शेयर कारोबार सञ्चालन हुने नेप्सेले जनाएको छ ।
प्राविधिक समस्याका कारण हिजो अर्थात् असोज ५ गते सोमबार नियमित शेयर कारोबार हुन सकेको थिएन ।
डेटा सेन्टरमा देखिएको प्राविधिक समस्याका कारण कारोबार सञ्चालन गर्दा नेप्सेको प्रणालीमा समेत क्षति पुग्न सक्ने जोखिम रहेको भन्दै हिजो असोज ५ गतेको नियमित कारोबार स्थगित गरेको नेप्सेले जनाएको थियो । कारोबार प्रणालीको निरन्तरतामा समस्या आउन सक्ने अवस्था देखिएपछि बजार सञ्चालन रोकिएको नेप्सेले बताएको थियो ।
सेयर कारोबार प्रणालीमा देखिएको गम्भीर अवरोधको मुख्य कारण डेटा हब प्रालिको पूर्वाधारमा भएको र्यान्समवेयर आक्रमण रहेको खुलेको थियो । स्टक ब्रोकरहरूले प्रयोग गर्ने कारोबार व्यवस्थापन प्रणाली (टीएमएस) होस्ट गरिएको डेटा हबको पूर्वाधारमा असोज ४ गते बिहान करिब ५ः३० बजे साइबर हमला भएको हो ।

