Banijya News

भोटेकोशी बाढीले बगाएका लकरका धनी खोज्दै प्रहरी

1
1.0K Shares

रसुवाको भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीले बगाएर ल्याएका विभिन्न ‘लकर’ तथा दराजका धनी खोज्न प्रहरीले सार्वजनिक सूचना जारी गरेको छ ।

नुवाकोटका विभिन्न स्थानबाट हालसम्म दुई थान लकर र एक थान लकरसहितको दराज फेला परेको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।

प्रहरीका अनुसार विदुर नगरपालिका–१ ढुङ्गेमा भदौ १९ गते, विदुर नगरपालिका–३ बुधसिंहघाटमा भदौ ३० गते र सोही वडाको छत्रेखोला दोभानमा भदौ ३१ गते ती सामग्री फेला परेका हुन् ।

जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रमुख प्रहरी उपरीक्षक विपिन रेग्मीका अनुसार फेला परेका लकरको आकार बैंक तथा वित्तीय संस्था वा ठूला व्यावसायिक प्रतिष्ठानमा प्रयोग हुने किसिमको छ ।

लकर तथा दराजका धनी पहिचान हुन नसकेपछि प्रहरीले सम्बन्धित व्यक्ति वा संस्थालाई आवश्यक प्रमाणसहित प्रहरी कार्यालयमा सम्पर्क गर्न आग्रह गरेको छ ।
यस्तै, रसुवाको गोसाइँकुण्ड गाउँपालिका–५ स्याफ्रुबेँसीमा पनि आज एक थान लकर फेला परेको जिल्ला प्रहरी कार्यालय रसुवाले जनाएको छ । प्रहरी निरीक्षक डिल्लीराज सापकोटाका अनुसार, उक्त लकर दाबी गर्न हालसम्म कोही सम्पर्कमा आएका छैनन् ।

बाढीका कारण सम्पत्ति हराएका व्यक्ति तथा संस्थालाई समेत नजिकको प्रहरी कार्यालयमा निवेदन दिन प्रहरीले आग्रह गरेको छ ।

1

Scroll to Top