दसैँ, तिहारलगायत चाडपर्वलाई लक्षित गरी सरकारले पोखरामा सुपथ मूल्य पसल सञ्चालनमा ल्याएको छ । साल्ट ट्रेडिङले उपभोक्तालाई सहुलियत दरमा दैनिक उपभोग्य वस्तु उपलब्ध गराउने उद्देश्यले सुपथ मूल्य पसल सञ्चालनमा ल्याएको हो ।
साल्ट ट्रेडिङ कर्पोरेसन गण्डकी प्रदेश कार्यालयले यही असोज १ गतेदेखि पोखराको पृथ्वीचोकस्थित कार्यालय परिसरमा सुपथ मूल्य पसल सञ्चालनमा ल्याएको छ । पसलबाट बजार मूल्यभन्दा सहुलियत दरमा चिनी, नुन, तेल, चामललगायत खाद्य सामग्री बिक्री भइरहेको कार्यालय प्रमुख सागर शेरचनले जानकारी दिए । उनका अनुसार, सुपथ मूल्य पसल आगामी कात्तिक मसान्तसम्म सञ्चालन हुनेछ ।
दसैँ, तिहार र छठ पर्वलाई लक्षित गरेर सञ्चालनमा ल्याइएको सुपथ मूल्य पसल दुई महिनासम्म सञ्चालन हुनेछ । यहाँ बजार मूल्यभन्दा सस्तोमा सामग्री उपलब्ध गराएको बताइएको छ ।
सुपथ मूल्य पसलमा चिनी प्रतिकेजी रु. एक सयमा उपलब्ध गराइएको छ । एक जना उपभोक्ताले अधिकतम छ केजीसम्म चिनी खरिद गर्न पाउने व्यवस्था गरिएको छ । बजारमा चिनी प्रतिकेजी रु. १४० मा बिक्री भइरहेको अवस्थामा सुपथ मूल्य पसलबाट खरिद गर्दा उपभोक्ताले प्रतिकेजी रु. ४० सहुलियत पाउने साल्ट ट्रेडिङले जनाएको छ ।
गण्डकी प्रदेशमा साल्ट ट्रेडिङ कर्पोरेसनका पोखरा र बागलुङमा कार्यालय छन् । दुवै कार्यालयबाट उपभोक्ताले सुपथ मूल्यमा दैनिक उपभोग्य सामग्री खरिद गर्न सक्ने जनाइएको छ । साल्ट ट्रेडिङले हरेक वर्ष चाडपर्वका समयमा सुपथ मुल्यका पसल सञ्चालन गरेर सहुलियतमा नागरिकलाई खाद्य सामग्री बिक्री गर्दै आएको छ ।

