एशियाली विकास बैंक (एडीबी) ले भोटेकोशी र त्रिशूली नदीमा आएको विनाशकारी बाढीका कारण नेपालको आर्थिक वृद्धिदरमा दबाब पर्ने प्रक्षेपण गरेको छ ।
एडीबीले बुधबार सार्वजनिक गरेको ‘एशियन डेभलपमेन्ट आउटलुक’ मा बाढी तथा अन्य बाह्य कारणले आर्थिक गतिविधिमा असर पर्ने उल्लेख गरेको हो ।
एडीबीका अनुसार सन् २०२७ मा नेपालको आर्थिक वृद्धिदर ४.१ प्रतिशत रहने अनुमान गरिएको छ । यसअघि जुलाईमा सार्वजनिक गरिएको प्रक्षेपणमा आर्थिक वृद्धिदर ४.५ प्रतिशत रहने अनुमान गरिएको थियो । पछिल्लो प्रक्षेपणअनुसार आर्थिक वृद्धिदर ०.४ प्रतिशत बिन्दुले घटाइएको छ ।
त्यस्तै, सन् २०२७ मा नेपालको मूल्यवृद्धि ५.३ प्रतिशत पुग्ने एडीबीले अनुमान गरेको छ । यसअघि मूल्यवृद्धि ५ प्रतिशत रहने प्रक्षेपण गरिएको थियो। पछिल्लो अनुमानअनुसार मूल्यवृद्धि ०.३ प्रतिशत बिन्दुले बढ्ने देखिएको छ ।
गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीले सडक, पुल, व्यापारिक संरचना तथा आपूर्ति प्रणालीमा ठूलो क्षति पुर्याएको थियो । यसका कारण खाद्यान्न तथा अत्यावश्यक वस्तुको आपूर्तिमा अवरोध हुनुका साथै ढुवानी लागतसमेत बढेको एडीबीले जनाएको छ ।
बाढीसँगै मध्यपूर्वमा चर्किएको द्वन्द्वका कारण विश्वव्यापी लागत दबाब बढ्न सक्ने भएकाले नेपालमा समेत मूल्यवृद्धिमा थप चाप पर्ने एडीबीको आकलन छ ।

