परराष्ट्रमन्त्री शिशिर खनालले एसियाको बढ्दो आर्थिक तथा रणनीतिक प्रभावका बीच नेपालको भौगोलिक अवस्थालाई अवसरमा रूपान्तरण गर्दै नेपाललाई एसियाको आर्थिक, डिजिटल तथा रणनीतिक ‘ब्रिज’ का रूपमा विकास गर्नुपर्ने बताएका छन् ।
एसिया सोसाइटीले न्युयोर्कमा आयोजना गरेको ‘स्टिरिङ नेपाल्स फ्युचर इन एसियाज राइजिङ सेन्चुरी’ कार्यक्रममा सम्बोधन गर्दै मन्त्री खनालले नेपालको भूगोललाई राष्ट्रिय आकांक्षाको सीमाका रूपमा हेर्न नहुने धारणा राखे। उनले नेपाललाई परम्परागत रूपमा ‘सानो मुलुक’ का रूपमा बुझ्ने दृष्टिकोण परिवर्तन गर्नुपर्नेमा जोड दिँदै नेपाल रणनीतिक रूपमा महत्वपूर्ण स्थानमा रहेको बताए ।
‘नेपाल सानो होइन। नेपाल रणनीतिक रूपमा सही स्थानमा छ,’ उनले भने । छिमेकी मुलुकको आकार र भूगोल यथार्थ भए पनि त्यसले नेपालको महत्त्वाकांक्षालाई सीमित गर्न नहुने उनको भनाइ थियो । नेपालको भूगोल र जनसङ्ख्यालाई अन्य मुलुकसँग तुलना गरेर मात्र नेपालको अन्तर्राष्ट्रिय महत्व निर्धारण गर्न नहुने उनले बताए ।
हालैका बाढी तथा प्राकृतिक विपत्तिको प्रसङ्ग उल्लेख गर्दै मन्त्री खनालले त्यसलाई ‘हिमालयन सुनामी’ को संज्ञा दिए । नेपालले लामो समयदेखि प्राकृतिक विपत्ति, कठिन भूगोल र संरचनात्मक चुनौती सामना गर्दै आएको उल्लेख गर्दै उनले जलवायु परिवर्तनलाई नेपालको परराष्ट्र नीतिको रणनीतिक प्राथमिकतामा राख्नुपर्ने बताए ।
उनका अनुसार प्रभावकारी पूर्वसूचना प्रणाली, जलसम्बन्धी तथ्यांकको आदानप्रदान, पूर्वानुमानयोग्य अनुदानमा आधारित जलवायु वित्त तथा छिमेकी र अन्तर्राष्ट्रिय समुदायसँग व्यावहारिक सहकार्य आवश्यक छ । जलवायु परिवर्तनका असर न्यूनीकरण र विपद् व्यवस्थापनमा अन्तर्राष्ट्रिय साझेदारीलाई थप प्रभावकारी बनाउनुपर्ने उनको भनाइ थियो ।
एसियाको आर्थिक उदयलाई नेपालका लागि महत्वपूर्ण अवसरका रूपमा व्याख्या गर्दै मन्त्री खनालले विश्वको करिब ६० प्रतिशत जनसंख्या एसियामा रहेको र विश्व अर्थतन्त्रमा पनि यस क्षेत्रको महत्वपूर्ण योगदान रहेको बताए । काठमाडौंलाई एसियाको आर्थिक तथा सामाजिक रूपान्तरणको महत्वपूर्ण केन्द्रका रूपमा विकास गर्न सकिने उनको धारणा थियो ।
‘नेपालले दुई ठूला छिमेकीबीच कसरी बाँच्ने भन्ने होइन, उनीहरूबीच र उनीहरूभन्दा बाहिर कसरी मूल्य सिर्जना गर्ने भन्ने प्रश्न महत्वपूर्ण हो,’ उनले भने ।
नेपालको ऐतिहासिक तथा सांस्कृतिक सम्बन्धलाई पनि क्षेत्रीय सहकार्यको आधार बनाउन सकिने मन्त्री खनालले बताए । गौतम बुद्धको जन्मस्थल लुम्बिनी तथा अरनिको र भृकुटीजस्ता ऐतिहासिक व्यक्तित्वको योगदानले नेपाललाई एसियाली सभ्यता र संस्कृतिको महत्वपूर्ण सम्पर्कस्थल बनाएको उनको भनाइ थियो । सम्पर्क र सहकार्यले समृद्धिको आधार तयार गर्ने उनले उल्लेख गरे ।
आर्थिक क्षेत्रमा नेपालको जलविद्युत् क्षमतालाई क्षेत्रीय रूपान्तरणसँग जोड्न सकिने उनले बताए। स्वच्छ विद्युत् भारत हुँदै बङ्गलादेशसम्म निर्यात भइरहेको उल्लेख गर्दै सीमावर्ती विशेष आर्थिक क्षेत्रमा उत्पादन विस्तार गरेर नेपाललाई विश्वव्यापी आपूर्ति शृंखलासँग जोड्न सकिने उनको भनाइ थियो ।
चीनसँगको सहकार्यलाई व्यावहारिक, व्यावसायिक र दीर्घकालीन आधारमा अघि बढाउनुपर्नेमा जोड दिँदै मन्त्री खनालले सडक, सुरुङ, सुख्खा बन्दरगाह, हवाई सेवा, डिजिटल सम्पर्क र सीमापार रेलसहितको बहुआयामिक ट्रान्स–हिमालयन कनेक्टिभिटी विकास गर्नुपर्ने बताए ।
नेपालको भविष्य नेपाली जनताले नै निर्धारण गर्ने भए पनि त्यसका लागि अन्तर्राष्ट्रिय साझेदारी आवश्यक रहेको उनले बताए । अमेरिका, युरोप, आसियान, ल्याटिन अमेरिका लगायतका साझेदारलाई नेपालमा लगानी, सहकार्य र साझेदारीका लागि स्वागत गर्दै उनले नेपालको आर्थिक तथा रणनीतिक सम्भावनालाई अन्तर्राष्ट्रिय सहकार्यसँग जोडेर अघि बढाउनुपर्नेमा जोड दिए ।

