Banijya News

बाढीपहिरोले राजमार्ग अवरुद्ध हुँदा काठमाडौंमा आपूर्तिको दबाब बढ्ने

1
1.0K Shares

लगातारको अविरल वर्षासँगै देशका विभिन्न स्थानमा बाढी र पहिरो जाने क्रम बढेपछि संघीय राजधानी काठमाडौंको जनजीवन प्रभावित हुन थालेको छ । बिहीबारदेखि परेको निरन्तर वर्षाका कारण काठमाडौं जोड्ने पृथ्वी राजमार्ग, बिपी राजमार्गलगायत सडकका विभिन्न स्थानमा पहिरो खसेर आवागमन प्रभावित भएको हो ।

काठमाडौं उपत्यका भित्रिने तथा बाहिरिने प्रमुख राजमार्गका विभिन्न खण्ड अवरुद्ध हुँदा लामो दूरीका सार्वजनिक यातायातका साधन गन्तव्यमा पुग्न नसकेर रोकिएका छन् । सडक अवरुद्ध भएपछि देशका विभिन्न जिल्लाबाट काठमाडौंका लागि छुटेका बस तथा काठमाडौंमा रहेका लामो दूरीका सवारीसाधनसमेत बाटोमै रोकिएका छन् ।

राजमार्गमा समस्या आएपछि काठमाडौंको गोङ्गबुस्थित नयाँ बसपार्कमा यात्रु तथा सवारीसाधनको चाप बढेको छ । सडक खुल्ने प्रतीक्षामा रहेका यात्रुहरूलाई गन्तव्यमा पुग्न कठिनाइ भएको छ भने सार्वजनिक यातायात सञ्चालनमा समेत अनिश्चितता देखिएको छ ।

सडक अवरोधको असर यातायातमा मात्र सीमित नरही काठमाडौंको आपूर्ति प्रणालीमा समेत पर्न सक्ने देखिएको छ । राजधानीमा खाद्यान्न, तरकारी, फलफूल, ग्यास, पेट्रोलियम पदार्थलगायत दैनिक उपभोग्य वस्तु बाहिरी जिल्लाबाट सडकमार्फत भित्रिने भएकाले राजमार्ग लामो समय बन्द भए आपूर्तिमा दबाब पर्न सक्छ ।

दशैं–तिहारजस्ता ठूला चाडपर्व नजिकिँदै गर्दा बजारमा उपभोग बढ्ने समय भएकाले सडक अवरोध थप लम्बिए वस्तुको उपलब्धता र मूल्यमा असर पर्न सक्ने व्यवसायी तथा उपभोक्ताको चिन्ता छ ।

सम्बन्धित निकायले अवरुद्ध सडक खुलाउन पहिरो हटाउने तथा वैकल्पिक मार्ग सञ्चालन गर्ने प्रयास गरिरहेका छन् । तर वर्षा निरन्तर भइरहेकाले सडक खुलाउने काममा समेत चुनौती देखिएको छ । राजमार्गको अवस्था सामान्य हुन समय लागे काठमाडौंको यातायातसँगै दैनिक उपभोग्य वस्तुको आपूर्तिमा समेत थप दबाब पर्न सक्ने देखिएको छ ।

1

Scroll to Top