साताको पहिलो कारोबार दिन आज सोमबार नेप्से परिसूचक घटेर बन्द भएको छ । अघिल्लो कारोबार दिन गत बिहीबार बढेर बन्द भएको नेप्से आज दोहोरो अंकले घटेको हो ।
सोमबार नेप्से परिसूचक १६.४७ अंक घटेर २६१३.३३ विन्दुमा झरेको छ । त्यस्तै, सेन्सेटिभ इण्डेक्स १.३४ अंक घटेको छ भने फ्लोट इण्डेक्स १.११ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.४८ अंक घटेको छ ।
१३ उपसमूहमध्ये १२ उपसमूहको परिसूचक घटेको छ भने एक उपसमूहको परिसूचक बढेको छ । व्यापार उपसमूहको परिसूचक सामान्य अंक बढेको छ । कारोबारमा आएको निर्जीवन बीमा उपसमूहको परिसूचक सर्वाधिक १.२० प्रतिशत घटेको छ । त्यस्तै, जलविद्युत् र लगानी उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी घटेको छ ।
नेप्सेसँगै कारोबार रकम पनि घटेको छ । गत बिहीबार ५ अर्ब ४४ करोड रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको बजारमा सोमबार ५ अर्ब ३८ करोड ५७ लाख ८५ हजार रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको छ ।
आज कारोबार भएकामध्ये १० प्रतिशत केबिएल डिबेञ्चर २०९० को मूल्य सर्वाधिक १२.१७ प्रतिशत बढेको छ । त्यस्तै, ७ प्रतिशत लक्ष्मी सनराइज डिबेञ्चर २०९२ को मूल्य १० प्रतिशत बढेको छ भने ६.२५ प्रतिशत प्राइम बैंक डिबेञ्चर, २०९३ को मूल्य करिब ९ प्रतिशत बढेको छ । कारोबारमा आएको हाथवे इन्भेष्टमेन्टको शेयरमूल्य सर्वाधिक १०.५८ प्रतिशत घटेको छ ।
कारोबार रकमका आधारमा हिमालयन डिष्टिलरी शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको ३८ करोड ८२ लाख रुपैयाँबराबरको शेयर किनबेच भएको छ । त्यस्तै, शिवम् सिमेन्ट्सको कारोबार रकम साढे २९ करोड रुपैयाँ नाघेको छ भने हाथवे इन्भेष्टमेन्टको करिब २० करोड रुपैयाँको शेयर कारोबार भएको छ ।

