अन्तर्राष्ट्रिय बजारमा सुनचाँदीको मूल्यमा तीव्र गिरावट आएको छ । आज सुनको मूल्य १३८.७३ अमेरिकी डलर अर्थात् ३.२४ प्रतिशतले घटेको छ । मूल्य घटेसँगै अन्तर्राष्ट्रिय बजारमा प्रतिऔंस सुन करिब ४ हजार १०० अमेरिकी डलरमा कारोबार भइरहेको छ ।
त्यस्तै, चाँदीको मूल्य पनि ३.४५ अमेरिकी डलर अर्थात् ५.४३ प्रतिशतले घटेको छ । हाल प्रतिऔंस चाँदी करिब ६०.७५ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।
अन्तर्राष्ट्रिय बजारमा सुनचाँदीको मूल्य घट्नुको प्रमुख कारण अमेरिकी ब्याजदर बढ्न सक्ने अपेक्षा बलियो बन्नु रहेको छ । मध्यपूर्वमा जारी तनावका कारण कच्चा तेलको मूल्य उच्च रहँदा विश्वव्यापी मुद्रास्फीति थप बढ्न सक्ने चिन्ता बढेको छ । मुद्रास्फीति नियन्त्रण गर्न अमेरिकी केन्द्रीय बैंकले ब्याजदर बढाउन सक्ने अनुमानसँगै अमेरिकी सरकारी ऋणपत्रको प्रतिफलसमेत बढेको छ ।
सुनचाँदीबाट ब्याज आम्दानी नहुने भएकाले सरकारी ऋणपत्रजस्ता प्रतिफल दिने साधनतर्फ लगानीकर्ता आकर्षित हुँदा दुवै धातुमा बिक्रीको दबाब बढेको देखिन्छ । अन्तर्राष्ट्रिय बजारमा आएको यही गिरावटको प्रभाव नेपाली बजारमा समेत परेको छ ।

