गत भदौ १० गते रसुवा जिल्लास्थित भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नेपाल प्रहरीका कर्मचारी तथा परिवारका लागि नेपाल प्रहरीले विशेष राहत तथा कल्याणकारी कार्यक्रम अघि बढाएको छ ।
सोमबार बसेको नेपाल प्रहरी नीति निर्माण समितिको उच्चस्तरीय बैठकले बाढीबाट प्रत्यक्ष प्रभावित २८ जना प्रहरी कर्मचारीका सन्ततिलाई प्राथमिक तहदेखि स्नातकोत्तर तहसम्मको शिक्षा पूर्ण रूपमा निःशुल्क उपलब्ध गराउने निर्णय गरेको हो ।
बाढीका क्रममा कर्तव्य पालनामा खटिएका प्रहरी कर्मचारीले भोग्नुपरेको क्षति तथा कठिन परिस्थितिलाई ध्यानमा राख्दै उनीहरूका परिवारलाई दीर्घकालीन रूपमा सहयोग पुर्याउने उद्देश्यले यस्तो निर्णय गरिएको नेपाल प्रहरीले जनाएको छ ।
समितिले प्रभावित प्रहरी परिवारका अन्य सदस्यको जीविकोपार्जन र दीर्घकालीन पुनःस्थापनालाई समेत प्राथमिकतामा राखेको छ । त्यसका लागि परिवारका सदस्यलाई आवश्यकताअनुसार विभिन्न सीपमूलक तथा व्यावसायिक तालिम उपलब्ध गराउने र तालिमपछि रोजगारीको उचित व्यवस्था मिलाउने निर्णय गरिएको छ ।
जोखिमपूर्ण अवस्थामा समेत राष्ट्र र जनताको सुरक्षाका लागि खटिने प्रहरी कर्मचारीको त्याग र समर्पणको सम्मान गर्दै प्रभावित परिवारलाई राहतसँगै भविष्य सुरक्षित बनाउने उद्देश्यले यी निर्णय गरिएको प्रहरीले जनाएको छ । शिक्षा, सीप र रोजगारीमार्फत प्रभावित परिवारलाई आत्मनिर्भर बनाउन यो पहल केन्द्रित रहनेछ ।

