केही दिनयता घटिरहेको नेप्से परिसूचक आज मंगलबार पनि घटेर बन्द भएको छ । हिजो सोमबार घटेर बन्द भएको नेप्से मंगलबार ९.६२ अंक घटेर २६०३.७१ विन्दुमा झरेको छ ।
त्यस्तै, आज सेन्सेटिभ इण्डेक्स १.०१ अंक घटेको छ भने फ्लोट इण्डेक्स ०.६१ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.४३ अंक घटेको छ ।
१३ उपसमूहमध्ये आज २ उपसमूहको परिसूचक बढेको छ भने ११ उपसमूहको परिसूचक घटेको छ । निर्जीवन बीमा र अन्य उपसमूहको परिसूचक सामान्य अंक बढेको छ । कारोबारमा आएको व्यापार उपसमूहको परिसूचक यस दिन सर्वाधिक १.८७ प्रतिशत घटेको छ ।
नेप्से घटेसँगै कारोबार रकम पनि घटेको छ । सोमबार ५ अर्ब ३८ करोड रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको बजारमा मंगलबार ४ अर्ब ६५ करोड ४८ लाख ७८ हजार रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको छ ।
आज कारोबार भएकामध्ये १२ प्रतिशत आइसीएफसी फाइनान्स लिमिटेड डिबेञ्चर २०८३ को मूल्य सर्वाधिक ९.१८ प्रतिशत बढेको छ । त्यस्तै, सयपत्री हाइड्रोपावरको शेयरमूल्य साढे ७ प्रतिशतभन्दा बढी बढेको छ भने ७ प्रतिशत नेपाल एसबिआई बैंक डिबेञ्चर २०९० को मूल्य करिब साढे ६ प्रतिशत बढेको छ । कारोबारमा आएको सिटिजन्स सुपर ३० म्युचुअल फण्डको इकाईमूल्य सर्वाधिक ५.४४ प्रतिशत घटेको छ ।
कारोबार रकमका आधारमा हिमालयन डिष्टिलरी शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको २२ करोड ९९ लाख रुपैयाँबराबरको शेयर कारोबार भएको छ । त्यस्तै, शिवम् सिमेन्ट्सको १७ करोड रुपैयाँभन्दा बढीको शेयर किनबेच भएको छ भने सिद्धार्थ बैंकको कारोबार रकम साढे १६ करोड रुपैयाँ नाघेको छ ।

