Banijya News

एमसिए–नेपालअन्तर्गत नारायणघाट–मुग्लिङ सडक मर्मतका लागि तीन कम्पनीको प्रस्ताव

1
1.0K Shares

मिलेनियम च्यालेन्ज एकाउन्ट नेपाल (एमसिए–नेपाल) अन्तर्गत नारायणघाट–मुग्लिङ सडक खण्डको आवधिक मर्मतका लागि तीन निर्माण कम्पनी तथा संयुक्त उपक्रमले बोलपत्र प्रस्ताव पेस गरेका छन् । मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) को कार्यान्वयन निकाय एमसिए–नेपालका अनुसार दुई नेपाली र एक भारतीय कम्पनी तथा संयुक्त उपक्रमले मर्मतसम्भारको ठेक्काका लागि प्रस्ताव पेस गरेका हुन् ।
एमसिए–नेपालले २१ सेप्टेम्बर २०२६ अर्थात् असोज ७ गते काठमाडौंको दरबारमार्गस्थित कार्यालयमा प्रत्यक्ष तथा जुममार्फत बोलपत्र प्रस्ताव खोलेको थियो । प्रस्तावअनुसार लामा–मार्कोलाइन्स संयुक्त उपक्रम (नेपाल) ले १ करोड १२ लाख ९५ हजार ३५४.५४ अमेरिकी डलर, शर्मा–कुमार संयुक्त उपक्रम (नेपाल) ले ९३ लाख १० हजार १०६.७० अमेरिकी डलर र एसएण्डपी इन्फ्रास्ट्रक्चर डेभलपर्स प्रालि. (भारत) ले ९८ लाख ९८ हजार ९९२.६२ अमेरिकी डलरको प्रस्ताव पेस गरेका छन् । यी सबै रकम भ्याटबाहेकका हुन् ।

नारायणघाट–मुग्लिङ सडक खण्डको आवधिक मर्मतका लागि एमसिए–नेपालले २७ जुलाई २०२६ मा बोलपत्र आह्वान गरेको थियो । बोलपत्र पेस गर्ने अन्तिम मिति ९ सेप्टेम्बरसम्म तीनवटा प्रस्ताव प्राप्त भएका थिए ।

एमसिए–नेपालले आर्थिक तथा प्राविधिक मूल्यांकनपछि योग्य कम्पनी छनोट गर्ने जनाएको छ । छनोट भएको कम्पनीसँग डिसेम्बर २०२६ सम्ममा ठेक्का सम्झौता गर्ने तयारी छ । रणनीतिक तथा व्यापारिक दृष्टिले महत्वपूर्ण मानिने नारायणघाट–मुग्लिङ सडकको नियमित र आवधिक मर्मतबाट आवागमन तथा मालसामान ढुवानी सहज हुने अपेक्षा गरिएको छ ।

एमसिए–नेपालअन्तर्गत धानखोला–लमही सडक खण्डको मर्मत आयोजनाको ठेक्का भने यसअघि नै स्वीकृत भइसकेको छ । उक्त ठेक्का डिसेम्बर २०२५ मा स्वीकृत भएको थियो भने २९ अप्रिल २०२६ मा भूमिपूजन समारोहसँगै आयोजनाको औपचारिक सुरुवात गरिएको थियो ।

एमसिए–नेपालले नेपालमा पहिलोपटक ‘फुल–डेप्थ रिक्लेमेसन’ (एफडीआर) र ‘सुपरपेभ’ जस्ता आधुनिक प्रविधि प्रयोग गरी सडक मर्मत गर्ने योजना अघि बढाएको छ । यी प्रविधिमार्फत सडकको संरचनात्मक अवस्था सुधार गर्दै लामो समयसम्म टिकाउ हुने गरी मर्मत गर्ने लक्ष्य राखिएको छ ।

एमसीसी कम्प्याक्टअन्तर्गत सडक मर्मतसँगै नेपालको विद्युत् प्रसारण प्रणाली सुदृढीकरणको काम पनि भइरहेको छ । परियोजनाअन्तर्गत ३१५ किलोमिटर लामो ४०० केभी डबल–सर्किट प्रसारण लाइन निर्माण हुँदैछ । साथै रातमाटे, नयाँ दमौली र नयाँ बुटवलमा तीनवटा ग्यास–इन्सुलेटेड सबस्टेसन निर्माण भइरहेका छन् ।

प्रसारण लाइनलाई नयाँ बुटवल–भारत सीमा १८ किलोमिटर, लप्सीफेदी–रातमाटे–हेटौँडा ११७ किलोमिटर, रातमाटे–दमौली ९० किलोमिटर र दमौली–बुटवल ९० किलोमिटर गरी चार खण्डमा विभाजन गरिएको छ ।

नेपाल सन् २०११ मा एमसीसी कार्यक्रमका लागि छनोट भएको थियो । नेपाल र अमेरिकी सरकारबीच १४ सेप्टेम्बर २०१७ मा एमसीसी कम्प्याक्टमा हस्ताक्षर भएको थियो । प्रारम्भिक सम्झौताअनुसार अमेरिकाले ५० करोड अमेरिकी डलर अनुदान र नेपाल सरकारले १३ करोड अमेरिकी डलर लगानी गर्ने व्यवस्था थियो । पछि नेपाल सरकारले थप ६ करोड ७० लाख डलर लगानी गर्ने निर्णय गरेपछि नेपालको कुल योगदान १९ करोड ७० लाख डलर पुगेको छ ।

एमसीसी सम्झौता २७ फेब्रुअरी २०२२ मा प्रतिनिधिसभाबाट अनुमोदन भएको थियो । त्यसपछि पूर्वतयारी र कार्यान्वयनको चरण अघि बढाइएको हो । परियोजनाले मुख्यतः विद्युत् प्रसारण लाइन निर्माण तथा सडक स्तरोन्नति र मर्मतसम्भार गरी दुई क्षेत्रमा काम गरिरहेको छ ।

1

Scroll to Top