नेप्से परिसूचक आज सामान्य घटेर बन्द भएको छ । बुधबार नेप्से घटेसँगै २६०० विन्दुमुनि झरेको छ । यसअघि गत भदौ २९ गते नेप्से २६०० विन्दुमुनि बन्द भएको थियो ।
आज नेप्से परिसूचक ४.८२ अंक घटेर २५९८.८९ विन्दुमा झरेको छ । त्यस्तै, सेन्सेटिभ इण्डेक्स २.०२ अंक घटेको छ भने फ्लोट इण्डेक्स ०.४३ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.६५ अंक घटेको छ ।
१३ उपसमूहमध्ये आज तीन उपसमूहको परिसूचक बढेको छ भने १० उपसमूहको परिसूचक घटेको छ । यस दिन व्यापार उपसमूहको परिसूचक सर्वाधिक १.१८ प्रतिशत बढेको छ । त्यस्तै, जलविद्युत् र म्युचुअल फण्ड उपसमूहको परिसूचक सामान्य अंक बढेको छ ।
नेप्से घटेपनि कारोबार रकम भने बढेको छ । हिजो मंगलबार ४ अर्ब ६५ करोड रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको बजारमा बुधबार ४ अर्ब ७६ करोड ५१ लाख २७ हजार रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको छ ।
आज कारोबार भएकामध्ये सिन्धु विकास बैंकको शेयरमूल्य सर्वाधिक १४.३७ प्रतिशत बढेको छ । त्यस्तै, सयपत्री हाइड्रोपावरको शेयरमूल्य करिब साढे ८ प्रतिशत बढेको छ भने घलेम्दी हाइड्रोको शेयरमूल्य करिब साढे ७ प्रतिशत बढेको छ ।
कारोबार रकमका आधारमा आज घलेम्दी हाइड्रो शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको ३९ करोड ४८ लाख रुपैयाँबराबरको शेयर कारोबार भएको छ । त्यस्तै, पिपुल्स हाइड्रोपावर कम्पनीको करिब २३ करोड रुपैयाँको शेयर किनबेच भएको छ भने मञ्जुश्री फाइनान्सको साढे १८ करोड रुपैयाँभन्दा बढीको संस्थापक शेयर कारोबार भएको छ ।

