Banijya News

दसैँअघि उखु किसानको बक्यौता भुक्तानी गर्ने सरकारको तयारी

1
1.0K Shares

बर्दिया र कैलालीका उखु किसानले पाउन बाँकी बक्यौता रकम दसैँअघि नै भुक्तानी गर्ने तयारी सरकारले गरेको छ । कृषि तथा प्राकृतिक स्रोत समितिको बिहीबार बसेको बैठकमा कृषि, वन तथा पर्यावरण मन्त्रालयका सचिव डा. राजेन्द्रप्रसाद मिश्रले किसानको भुक्तानीलाई उच्च प्राथमिकतामा राखिएको जानकारी दिएका हुन् ।

सचिव मिश्रका अनुसार भुक्तानीसम्बन्धी कार्यविधि मन्त्रालयमा प्राप्त भइसकेको छ । अब आवश्यक प्राविधिक तथा प्रशासनिक प्रक्रिया एक–दुई दिनभित्र पूरा गरी किसानको खातामा रकम पठाउने तयारी भइरहेको उनले बताए ।

यसअघि असारमै बक्यौता रकम भुक्तानी गर्ने भनिए पनि विभिन्न प्राविधिक तथा प्रशासनिक प्रक्रियाका कारण ढिलाइ भएको मन्त्रालयले जनाएको छ । लामो समयदेखि बक्यौता रकम भुक्तानीको माग गर्दै आएका उखु किसानले काठमाडौं केन्द्रित आन्दोलनसमेत गर्दै आएका थिए ।

सचिव मिश्रले यसपटक भने दसैँअघि नै रकम उपलब्ध गराउने तयारी भइरहेको भन्दै किसानलाई भुक्तानीका विषयमा ढुक्क रहन आग्रह गरेका छन् ।

1

Scroll to Top