राठी ग्रुपअन्तर्गतको अन्नपूर्ण राठी केबल इन्डष्ट्रिजको व्यापार गत आर्थिक वर्षमा १७ प्रतिशतले बढेको छ । कम्पनीको व्यापार सन् २०२५ को ३ अर्ब २५ करोड ७० लाख रुपैयाँबाट बढेर सन् २०२६ मा ३ अर्ब ८१ करोड ६० लाख रुपैयाँ पुगेको हो ।
कम्पनीले सन् २०२४ मा २ अर्ब ४९ करोड ४० लाख रुपैयाँको व्यापार गरेको थियो । यसअनुसार सन् २०२५ मा कम्पनीको व्यापार ३१ प्रतिशतले बढेको थियो भने सन् २०२६ मा १७ प्रतिशतले वृद्धि भएको हो ।
कम्पनीको नाफा तथा सञ्चालन क्षमता पनि सुधार भएको छ । गत आर्थिक वर्षमा कम्पनीले ५.२९ प्रतिशत खुद नाफा मार्जिन कायम गरेको छ । सन् २०२५ मा यस्तो मार्जिन ४.२२ प्रतिशत थियो । यस्तै, ग्रस क्यास एक्रुअल १७ करोड ४० लाख रुपैयाँबाट बढेर २६ करोड रुपैयाँ पुगेको छ ।
कम्पनीको सञ्चालन नाफा मार्जिनसमेत बढेर १०.२६ प्रतिशत पुगेको छ । सन् २०२५ मा यो ८.२१ प्रतिशत थियो । सञ्चालन नाफामा भएको सुधारसँगै ब्याज भुक्तानी क्षमता अनुपात २.७१ गुणाबाट बढेर ६.०४ गुणा पुगेको छ ।
कम्पनीको वित्तीय संरचनामा पनि सुधार देखिएको छ । गत आवको अन्त्यसम्म कम्पनीको चुक्ता पुँजी ६० करोड रुपैयाँ रहेको छ भने प्रिमियमसहितको इक्विटीका लागि ४० करोड ५० लाख रुपैयाँ अग्रिम रकम रहेको छ । कम्पनीको ट्यान्जिबल नेटवर्थ १ अर्ब ५६ करोड रुपैयाँ पुगेको छ ।
दीर्घकालीन कर्जा घटेर २१ करोड ४० लाख रुपैयाँमा सीमित भएको छ । इक्विटी थप भएपछि कम्पनीको गियरिङ अनुपात ०.६९ गुणाबाट घटेर ०.४९ गुणामा आएको छ । कुल बाह्य दायित्व तथा ट्यान्जिबल नेटवर्थ अनुपात पनि सुधार भएर ०.५६ गुणामा झरेको छ । कुल कर्जा तथा ग्रस क्यास एक्रुअल अनुपात ४.०५ गुणाबाट घटेर २.९३ गुणामा आएको छ ।
कम्पनीले वायरिङ केबल, पावर केबल, एबीसी/एसीएसआर केबल तथा कन्सेन्ट्रिक केबल उत्पादन तथा बिक्री गर्दै आएको छ । आन्तरिक बजारमा ‘राठी’ र ‘अन्नपूर्ण’ ब्रान्डका उत्पादन बिक्री हुने गरेका छन् ।
सन् २०२५ जुनमा पब्लिक कम्पनी बनेको कम्पनीले दीर्घकालीन तथा अल्पकालीन कर्जाका लागि कुल २ अर्ब ७२ करोड ५४ लाख रुपैयाँको रेटिङ गराएको छ । कम्पनीका अध्यक्ष श्याम राठीसँग उत्पादन, ट्रेडिङ तथा वितरण क्षेत्रमा २५ वर्षको अनुभव रहेको छ ।


