Banijya News

ग्यास अभावबीच उद्योगबाट खुद्रा बिक्री रोक्न बिक्रेता महासंघको माग

1
1.0K Shares

खाना पकाउने एलपी ग्यासको अभाव बढ्दै गएर उपभोक्ताले सास्ती खेप्नुपरेको भन्दै ग्यास बिक्रेता महासंघ नेपालले उद्योगबाट भइरहेको खुद्रा बिक्री तत्काल रोक्न नेपाल आयल निगमसँग माग गरेको छ ।

महासंघले निगमका कार्यकारी निर्देशक नागेन्द्र साहलाई ज्ञापनपत्र बुझाउँदै ग्यास उद्योगले प्रत्यक्ष रूपमा उपभोक्तालाई सिलिन्डर बिक्री गर्ने अभ्यास अन्त्य गरी डिलरमार्फत मात्र बिक्री वितरणको व्यवस्था गर्न माग गरेको छ । ग्यासको आपूर्ति, सिलिन्डरको संख्या र वितरण प्रणालीबीच उचित समन्वय नहुँदा बजारमा समस्या बढेको भन्दै महासंघले निगमसँग नीतिगत हस्तक्षेप गर्न आग्रह गरेको हो ।

महासंघका अध्यक्ष ज्ञानेश्वर अर्यालले बजारमा आवश्यकताभन्दा बढी सिलिन्डर हुनु ग्यास आपूर्ति व्यवस्थापनमा समस्या सिर्जना गर्ने मुख्य कारण रहेको दाबी गरेका छन् । उनका अनुसार समस्या कायमै रहेका बेला विभिन्न ग्यास उद्योगले २ हजार ५०० देखि २ हजार ७०० रुपैयाँसम्ममा नयाँ सिलिन्डर बिक्री गरिरहेका छन् ।

महासंघले उद्योगबाट भइरहेको यस्तो खुद्रा बिक्रीले वितरण प्रणाली थप अव्यवस्थित बनाएको भन्दै निगम र सरकारको भूमिकामाथि समेत प्रश्न उठाएको छ । ग्यास वितरण प्रणालीलाई पारदर्शी र व्यवस्थित बनाउन उद्योगस्तरबाट हुने खुद्रा बिक्री रोक्दै डिलरमार्फत मात्र बिक्री गर्ने स्पष्ट व्यवस्था आवश्यक रहेको महासंघको भनाइ छ ।

त्यस्तै, ग्यास अभावको वास्तविक कारण पहिचान गरी सम्बन्धित सरोकारवालासँग छलफल गरेर सहज आपूर्ति सुनिश्चित गर्न पनि महासंघले निगमलाई आग्रह गरेको छ ।

बजारमा रहेका अनावश्यक सिलिन्डरको धरौटी रकम फिर्ता गरी व्यवस्थापन गर्नुपर्नेमा नयाँ आकारका सिलिन्डर बजारमा ल्याउने तयारीप्रति पनि महासंघले असन्तुष्टि जनाएको छ । विशेषगरी ५, १९, ५० र ४५० किलो क्षमताका नयाँ सिलिन्डर ल्याउने योजनाले उपभोक्तामाथि थप आर्थिक भार पर्ने महासंघको दाबी छ ।

महासंघले हाल सर्वसाधारणले प्रयोग गर्दै आएको १४.२ किलो क्षमताको सिलिन्डरको उचित व्यवस्थापनलाई प्राथमिकता दिनसमेत माग गरेको छ ।

1

Scroll to Top