Banijya News

कांग्रेसको १५औँ महाधिवेशन : अधिकांश पदमा बहुपक्षीय प्रतिस्पर्धा, नेतृत्वका लागि चुनावी सरगर्मी तीव्र

1
1.0K Shares

नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि मनोनयन दर्ता प्रक्रिया सकिएको छ। सभापतिदेखि सहमहामन्त्रीसम्मका अधिकांश पदमा ठूलो संख्यामा उम्मेदवारी परेपछि कांग्रेसको नयाँ नेतृत्व चयनका लागि प्रतिस्पर्धा रोचक बनेको छ। केही पदमा भने एक जनाको मात्र उम्मेदवारी परेकाले उम्मेदवारहरू निर्विरोध भएका छन्।

सभापति पदमा गगनकुमार थापा, पूर्वसहमहामन्त्री किशोरसिंह राठौर र श्यामकृष्ण खड्कीले उम्मेदवारी दिएका छन्। तीन जनाको उम्मेदवारी परेसँगै सभापति पदका लागि त्रिपक्षीय प्रतिस्पर्धा हुने भएको छ।

वरिष्ठ उपसभापति पदमा विश्वप्रकाश शर्माको मात्र उम्मेदवारी परेपछि उनी निर्विरोध निर्वाचित भएका छन्। त्यस्तै, महिला उपसभापति पदमा पुष्पा भुसालको मात्र उम्मेदवारी परेको छ। अन्य उम्मेदवारी नपरेपछि भुसाल पनि निर्विरोध भएकी छन्।

कांग्रेसमा दुई खुला उपसभापति पदका लागि भने नौ जना चुनावी मैदानमा छन्। डा. चन्द्रमोहन यादव, सुरेन्द्रराज पाण्डे, डा. मिनेन्द्र रिजाल, गोविन्द भट्टराई, देवराज चालिसे, मधुप्रसाद आचार्य, धनराज गुरुङ, दीपक गिरी र डा. चन्द्र भण्डारीले उम्मेदवारी दिएका छन्।

समावेशी उपसभापतिको एक पदका लागि पनि पाँच जनाबीच प्रतिस्पर्धा हुने भएको छ। उक्त पदमा विनोद चौधरी, फरमुल्लाह मन्सुर, जीवन परियार, रञ्जित कर्ण र सीता गुरुङले उम्मेदवारी दिएका छन्।

महामन्त्री पदमा पनि प्रतिस्पर्धा हुने भएको छ। महिला महामन्त्रीको एक पदका लागि डिला संग्रौला, रीता खनाल र महालक्ष्मी उपाध्याय ‘डिना’ले उम्मेदवारी दिएका छन्। खुलातर्फका दुई महामन्त्री पदका लागि भने आठ जना उम्मेदवार बनेका छन्। शंकर तिवारी, डा. सुनील शर्मा, नैनसिंह महर, प्रदीप पौडेल, गुरुराज घिमिरे, अमरसिंह पुन, उदयशमशेर राणा र डा. सन्तोष उपाध्याय खुला महामन्त्रीका उम्मेदवार हुन्।

सहमहामन्त्रीका विभिन्न समावेशी समूहमा पनि बहुपक्षीय प्रतिस्पर्धा हुने भएको छ। खसआर्यतर्फको एक पदका लागि जगदीशनरसिंह केसी, मनोजमणि आचार्य र शुभराम बस्नेतबीच प्रतिस्पर्धा हुनेछ। आदिवासी जनजातितर्फ बहादुरसिंह लामा र तारामान गुरुङ आमनेसामने भएका छन्।

मधेसीतर्फ सहमहामन्त्रीको एक पदका लागि आठ जनाको उम्मेदवारी परेको छ। महेन्द्र यादव, अजय चौरसिया, नागिना यादव, किरण यादव, अभिषेक प्रताप साह, रामपल्टन साह, मनिषकुमार मिश्र र मुक्तकुमारी यादवले उम्मेदवारी दिएका छन्।

दलित सहमहामन्त्रीको एक पदमा नरेन्द्र पासवान, प्रकाश रसाइली, लक्ष्मी परियार र मानबहादुर नेपाली प्रतिस्पर्धामा छन्। थारु सहमहामन्त्री पदमा तेजुलाल चौधरी, योगेन्द्र चौधरी र सुरेन्द्रप्रसाद चौधरीले उम्मेदवारी दिएका छन्।

अल्पसंख्यक तथा अपाङ्गता समूहबाट सहमहामन्त्रीको एक पदका लागि नगेन्द्र कुमाल, योगेश गौचन र आंगेलु शेर्पाले उम्मेदवारी दिएका छन्। मुस्लिमतर्फको एक पदका लागि फिर्दोस आलम, अब्दुल सतार र अहतर कमल मुसालमानबीच प्रतिस्पर्धा हुने भएको छ।

सहमहामन्त्री खुलातर्फ पनि सात जनाको उम्मेदवारी परेको छ। अमृत अर्याल, रामहरि खतिवडा, अजयबाबु शिवाकोटी, दिनेश कोइराला, विमलराज क्षेत्री, देवेन्द्रराज कँडेल र डिल्लीराम सुवेदीले उम्मेदवारी दिएका छन्।

पिछडिएको क्षेत्रतर्फको एक सहमहामन्त्री पदमा पनि सात जना प्रतिस्पर्धामा छन्। कर्णबहादुर बुढा, जनकराज गिरी, मीन भाम, नारायणप्रसाद भट्टराई, राजन कुँवर, जीवनबहादुर विष्ट र रामबहादुर विष्टले उम्मेदवारी दिएका छन्। महिला सहमहामन्त्रीको एक पदमा भने नानु बस्तोला र प्रतिमा गौतमबीच प्रतिस्पर्धा हुने भएको छ।

मनोनयन दर्ता प्रक्रिया सकिएसँगै कांग्रेसको १५औँ महाधिवेशनमा नयाँ नेतृत्व चयनको औपचारिक प्रतिस्पर्धा सुरु भएको छ। केही प्रमुख पदमा निर्विरोध नेतृत्व चयन भए पनि सभापति, खुला तथा समावेशी उपसभापति, महामन्त्री र विभिन्न सहमहामन्त्री पदमा धेरै उम्मेदवार मैदानमा छन्।

उम्मेदवारी दर्तापछि विभिन्न उम्मेदवारले आफ्ना सचिवालय गठन गरी प्रचारप्रसार तथा प्रतिनिधिसँग भेटघाटलाई तीव्रता दिएका छन्। महाधिवेशन प्रतिनिधिको समर्थन जुटाउन उम्मेदवारहरू सक्रिय भएसँगै कांग्रेसको महाधिवेशनस्थलमा चुनावी गतिविधि बढेको छ। अबको प्रक्रिया उम्मेदवारीमाथिको दाबी–विरोध, अन्तिम नामावली प्रकाशन तथा निर्वाचनतर्फ अघि बढ्नेछ। अधिकांश पदमा प्रतिस्पर्धा देखिएकाले कांग्रेसको नयाँ केन्द्रीय नेतृत्व चयनका लागि हुने निर्वाचनलाई महाधिवेशनको मुख्य आकर्षणका रूपमा हेरिएको छ।

1

Scroll to Top