Banijya News

एनएमबि बैंकद्वारा ७ प्रतिशत नगद लाभांश प्रस्ताव

1
1.0K Shares

एनएमबि बैंक लिमिटेडले गत आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट शेयरधनीलाई ७ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । उक्त प्रस्ताव अनुमोदनका लागि बैंकले मंसिर २५ गते शुक्रबार ३१औँ वार्षिक साधारणसभा आयोजना गर्ने भएको छ ।

बैंक सञ्चालक समितिको मंसिर २० गते सम्पन्न ५१९औँ बैठकले वार्षिक साधारणसभा बोलाउने निर्णय गर्नुका साथै लाभांश वितरणसम्बन्धी प्रस्ताव अघि बढाएको हो ।
बैंकले हाल कायम चुक्ता पुँजीको ७ प्रतिशतका दरले कुल १ अर्ब ३४ करोड ९९ लाख ५२ हजार ८८८ रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । बैंकका अनुसार उक्त लाभांश रकममा लाग्ने करसमेत समावेश गरिएको छ ।

यसैगरी, बैंकले ८.२५ प्रतिशत अविमोच्य असञ्चिति अग्राधिकार शेयरधनीका लागि पनि सोही दरमा नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । यसअन्तर्गत कुल १२ करोड २० लाख ५४ हजार ७९४ रुपैयाँ ५२ पैसा वितरण गरिनेछ । उक्त लाभांश शेयर बाँडफाँट भएको मितिदेखि २०८३ असार मसान्तसम्मको अवधिलाई आधार मानी १८० दिनको समानुपातिक हिसाबले गणना गरिएको बैंकले स्पष्ट पारेको छ ।

साधारणसभा तथा लाभांश वितरण प्रयोजनका लागि बैंकले मंसिर ११ गते एक दिनका लागि शेयरधनी दर्ता पुस्तिका बन्द (बुक क्लोज) गर्ने निर्णय गरेको छ । यसअनुसार मंसिर १० गतेसम्म बैंकको शेयरधनी कायम रहेका लगानीकर्ताले साधारणसभामा सहभागी हुने तथा प्रस्तावित लाभांश प्राप्त गर्ने अधिकार पाउनेछन् ।

सभामा सञ्चालक समितिको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन र आर्थिक वर्ष २०८२/८३ को वार्षिक वित्तीय विवरणमाथि छलफल गरी पारित गर्ने प्रस्तावसमेत प्रस्तुत हुनेछ ।

त्यसैगरी, आगामी आर्थिक वर्ष २०८३/८४ का लागि लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने एजेण्डा पनि सभामा समावेश गरिएको छ ।

यसका अतिरिक्त एनएमबि बैंकको सहायक तथा सम्बन्धित संस्थाका रूपमा रहेका एनएमबि क्यापिटल लिमिटेड, एनएमबि लघुवित्त वित्तीय संस्था लिमिटेड र एनएमबि सेक्युरिटिज लिमिटेडसमेत समेटिएको एकीकृत वित्तीय विवरण स्वीकृतिका लागि साधारणसभामा पेस गरिनेछ । बैंकको प्रस्तावित लाभांश तथा अन्य एजेण्डा साधारणसभाबाट पारित भएपछि सम्बन्धित शेयरधनीले नियमानुसार लाभांश प्राप्त गर्नेछन् ।

1

Scroll to Top