Banijya News

नाफामा फर्कियो शिखर इन्स्योरेन्स, ईपीएस पनि सकारात्मक

1
1.0K Shares

शिखर इन्स्योरेन्स कम्पनी लिमिटेड चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा घाटाबाट नाफामा फर्किएको छ । कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक वर्षको पहिलो त्रैमासिक वित्तीय विवरणअनुसार समीक्षा अवधिमा ४ करोड ११ लाख २१ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको हो ।

अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनी १५ करोड ८५ लाख ८६ हजार रुपैयाँ खुद घाटामा रहेको थियो । यससँगै कम्पनीले एक वर्षको अवधिमा आफ्नो वित्तीय अवस्थामा उल्लेख्य सुधार गरेको देखिएको छ ।

समीक्षा अवधिमा कम्पनीको खुद आर्जित बीमाशुल्क १३.७९ प्रतिशतले वृद्धि भएको छ । अघिल्लो वर्षको पहिलो त्रैमासमा २९ करोड ७ लाख ८६ हजार रुपैयाँ रहेको यस्तो बीमाशुल्क बढेर चालु आर्थिक वर्षको असोज मसान्तसम्म ३३ करोड ८ लाख ९३ हजार रुपैयाँ पुगेको छ ।

त्यस्तै, कम्पनीको कुल आम्दानी पनि १७.३३ प्रतिशतले बढेको छ । अघिल्लो वर्ष ५३ करोड ९० लाख ११ हजार रुपैयाँ रहेको कुल आम्दानी समीक्षा अवधिमा बढेर ६३ करोड २४ लाख २४ हजार रुपैयाँ पुगेको हो ।

कम्पनीको नाफा सुधारमा सञ्चालन खर्चमा आएको कमीले समेत सहयोग पुर्‍याएको देखिन्छ । समीक्षा अवधिमा कम्पनीको कुल खर्च २५.०६ प्रतिशतले घटेर ५७ करोड ३६ लाख ७९ हजार रुपैयाँमा सीमित भएको छ । अघिल्लो वर्षको सोही अवधिमा कम्पनीको कुल खर्च ७६ करोड ५५ लाख ६३ हजार रुपैयाँ रहेको थियो ।

यद्यपि, कम्पनीको दाबी भुक्तानी भने उल्लेख्य बढेको छ । अघिल्लो वर्ष ६८ करोड २ लाख २४ हजार रुपैयाँ रहेको कुल दाबी भुक्तानी ९७ प्रतिशतले बढेर समीक्षा अवधिमा १ अर्ब ३४ करोड ३ लाख १० हजार रुपैयाँ पुगेको छ । त्यसैगरी, लगानी तथा कर्जाबाट प्राप्त आम्दानी ३५.०१ प्रतिशतले घटेर ४ करोड २८ लाख ९७ हजार रुपैयाँमा सीमित भएको छ ।

कम्पनीको चुक्ता पुँजी ३ अर्ब १० करोड १५ लाख ६७ हजार रुपैयाँ रहेको छ । समीक्षा अवधिमा जगेडा कोष १.२४ प्रतिशतले बढेर १ करोड ६८ लाख १९ हजार रुपैयाँ पुगेको छ भने रिटेन्ड अर्निङ २८.५१ प्रतिशतले वृद्धि भएर ८ करोड १५ लाख ६७ हजार रुपैयाँ कायम भएको छ ।

यसैगरी, कम्पनीको बीमा कोष ३२.१५ प्रतिशतले बढेर १ अर्ब ३१ करोड २९ लाख ७१ हजार रुपैयाँ पुगेको छ । कम्पनीले समीक्षा अवधिसम्म १ लाख २ हजार ३१२ वटा बीमालेख जारी गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा कम्पनीले ७९ हजार ४४० वटा बीमालेख जारी गरेको थियो ।

नाफामा सुधार भएसँगै कम्पनीको प्रतिसेयर आम्दानी (ईपीएस) पनि ऋणात्मकबाट सकारात्मक बनेको छ । अघिल्लो वर्ष २१ रुपैयाँ ७० पैसा ऋणात्मक रहेको ईपीएस समीक्षा अवधिमा बढेर ५ रुपैयाँ ३० पैसा पुगेको छ । कम्पनीको प्रतिसेयर नेटवर्थ भने १९२ रुपैयाँ ७४ पैसा रहेको छ ।

1

Scroll to Top