बीमा कम्पनीहरूमा रहेको नौ खर्ब रुपैयाँभन्दा बढीको पुँजी जलविद्युत्, सडक तथा ठूला पूर्वाधार आयोजनामा परिचालन गर्ने बाटो खोल्ने गरी सरकारले बीमा ऐन, २०७९ संशोधनको तयारी गरेको छ । ऐन संशोधनको मस्यौदामा बीमा कम्पनीहरूलाई बैंक तथा वित्तीय संस्थाको नेतृत्वमा हुने सहवित्तीयकरण कर्जामा सहभागी हुन सक्ने व्यवस्था प्रस्ताव गरिएको हो ।
प्रस्तावित संशोधनमा ऐनको दफा ६९ को उपदफा १ अन्तर्गत बीमा कम्पनीले गर्न नहुने कामसम्बन्धी खण्ड ग र छ मा परिवर्तन गर्न खोजिएको छ । हालको कानुनी व्यवस्थाअनुसार बीमा कम्पनीले जीवन बीमालेखको धितोमा बीमितलाई ऋण दिन र आफ्ना कर्मचारीलाई नियमानुसार सापटी दिनेबाहेक अन्य व्यक्ति वा संस्थालाई ऋण दिन पाउँदैनन् ।
तर, संशोधन मस्यौदामा बैंक तथा वित्तीय संस्थाले नेतृत्व गरेको सहवित्तीयकरण कर्जामा सहभागी हुन यस व्यवस्थाले बाधा पुर्याएको नमानिने प्रावधान थप्न प्रस्ताव गरिएको छ । यसले बीमा कम्पनीलाई बैंकहरूसँग मिलेर ठूला आयोजनामा ऋण लगानी गर्ने अवसर प्रदान गर्नेछ ।
हाल बीमा कम्पनीहरूको ठूलो रकम बैंक तथा वित्तीय संस्थाको मुद्दती निक्षेपमा सीमित छ । बैंकहरूले निक्षेपको ब्याजदर घटाउँदै लगेपछि बीमा कम्पनीहरूको लगानीबाट प्राप्त हुने आम्दानीमा समेत दबाब परेको छ । यस्तो अवस्थामा लगानीका वैकल्पिक क्षेत्र विस्तार गरी दीर्घकालीन प्रतिफल प्राप्त गर्ने उद्देश्यले ऐन संशोधन गर्न लागिएको मस्यौदामा उल्लेख छ ।
नयाँ व्यवस्था कार्यान्वयनमा आएमा जलविद्युत्, सडक, पर्यटनलगायत ठूला पूर्वाधार आयोजनामा आवश्यक पर्ने दीर्घकालीन पुँजी जुटाउन सहज हुने अपेक्षा गरिएको छ । विशेषगरी ठूलो लगानी आवश्यक पर्ने आयोजनामा बैंकहरूको मात्रै भर पर्नुपर्ने अवस्था कम हुनेछ । बीमा कम्पनीसमेत सहवित्तीयकरणमा सहभागी हुँदा लगानीको जोखिम बाँडफाँट गर्न बैंकहरूलाई पनि सहयोग पुग्नेछ ।
यसैगरी, संशोधन मस्यौदामा दफा ६९ को उपदफा १ को अर्को खण्डमा रहेको ‘शेयर वा धितोपत्र’ भन्ने शब्दावलीबाट ‘शेयर वा’ हटाएर ‘धितोपत्र’ मात्र राख्ने प्रस्ताव गरिएको छ । कानुनी अर्थमा शेयर पनि धितोपत्रभित्रै पर्ने भएकाले दोहोरो अर्थ लाग्ने शब्द हटाउन यस्तो संशोधन गर्न खोजिएको हो ।
बीमा कम्पनीहरूको लगानी विविधीकरण हुन सकेमा उनीहरूको आम्दानीका स्रोत विस्तार हुने र त्यसको सकारात्मक प्रभाव बीमितले प्राप्त गर्ने बोनस दरमा समेत पर्न सक्ने अपेक्षा गरिएको छ ।


