Banijya News

चार महिनामै २० अर्बभन्दा बढीको स्मार्टफोन आयात

1
1.0K Shares

नेपालमा स्मार्टफोनको आयात उल्लेख्य रूपमा बढेको छ । चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो चार महिना (साउन–कात्तिक) मा मात्रै २० अर्ब रुपैयाँभन्दा बढी मूल्यका स्मार्टफोन आयात भएका छन् ।

भन्सार विभागको तथ्यांकअनुसार यस अवधिमा ८ लाख ७१ हजार १३३ थान स्मार्टफोन नेपाल भित्रिएका छन् । स्मार्टफोन आयातका लागि २० अर्ब ६८ करोड ३३ लाख ९४ हजार रुपैयाँ बाहिरिएको छ ।

स्मार्टफोन आयातबाट सरकारले ३ अर्ब ८५ करोड रुपैयाँभन्दा बढी राजस्वसमेत प्राप्त गरेको छ । विभागको तथ्यांकअनुसार पहिलो चार महिनामा स्मार्टफोन आयातबाट ३ अर्ब ८५ करोड ८२ लाख ५७ हजार रुपैयाँ राजस्व संकलन भएको हो । आयातित स्मार्टफोनको मूल्यको तुलनामा यस्तो राजस्व करिब १८.६६ प्रतिशत बराबर रहेको छ ।

नेपालमा आयात हुने स्मार्टफोनको सबैभन्दा ठूलो हिस्सा चीनबाट आउने गरेको छ । पहिलो चार महिनामा चीनबाट मात्रै ७ लाख ५९ हजार ३३६ थान स्मार्टफोन आयात भएका छन् । यसको आयात मूल्य १६ अर्ब २४ करोड २५ लाख रुपैयाँभन्दा बढी रहेको छ । कुल स्मार्टफोन आयातमा चीनको हिस्सा करिब ८७ प्रतिशत छ ।

त्यस्तै, भारतबाट १ लाख ६ हजार ३९४ थान स्मार्टफोन आयात भएका छन् । भारतबाट आयातित स्मार्टफोनको मूल्य ३ अर्ब ९० करोड रुपैयाँभन्दा बढी रहेको विभागको तथ्यांकले देखाउँछ । कुल आयातमा भारतको हिस्सा करिब १२ प्रतिशत छ ।

यसरी चीन र भारतबाट मात्रै चार महिनामा ८ लाख ६५ हजार ७३० थान स्मार्टफोन आयात भएका छन् । यो कुल स्मार्टफोन आयातको करिब ९९ प्रतिशत हो। यसले नेपालको स्मार्टफोन बजार मुख्य रूपमा दुई छिमेकी मुलुकमा निर्भर रहेको देखाउँछ ।

अन्य मुलुकबाट हुने स्मार्टफोन आयात भने तुलनात्मक रूपमा न्यून छ । तथ्यांकअनुसार अमेरिकाबाट १ हजार ३३७ थान, जापानबाट १ हजार १०५ थान र अस्ट्रेलियाबाट ८६५ थान स्मार्टफोन आयात भएका छन् । त्यस्तै, मलेसियाबाट ५६८ थान, संयुक्त अरब इमिरेट्सबाट ३८२ थान र बेलायतबाट २७२ थान स्मार्टफोन भित्रिएका छन् । विभागको तथ्यांकमा ५० भन्दा बढी देश तथा क्षेत्रबाट भएको आयात समेटिए पनि अधिकांश कारोबार चीन र भारतमै केन्द्रित देखिन्छ ।

यस अवधिमा आयात भएका स्मार्टफोनको औसत मूल्य प्रतिथान करिब २३ हजार ७४३ रुपैयाँ रहेको छ । यद्यपि, यो भन्सार प्रयोजनका लागि कायम गरिएको आयात मूल्यका आधारमा निकालिएको औसत हो । यसलाई नेपाली बजारमा बिक्री हुने स्मार्टफोनको औसत मूल्यका रूपमा लिन मिल्दैन। बजारमा बिक्री गर्दा भन्सार तथा अन्य कर, ढुवानी, वितरक र खुद्रा विक्रेताको लागत तथा नाफासमेत जोडिने भएकाले उपभोक्ताले तिर्ने मूल्य फरक हुन्छ ।

स्मार्टफोनसँगै मोबाइल फोनका सहायक उपकरण तथा सञ्चारसम्बन्धी सामग्रीको आयात पनि ठूलो परिमाणमा भएको छ । विभागका अनुसार साउनदेखि कात्तिकसम्म १२ लाख ८६ हजार ५५९ थान मोबाइल फोन चार्जर आयात भएका छन् । ती चार्जरको आयात मूल्य ३४ करोड ५९ लाख रुपैयाँभन्दा बढी छ ।

त्यस्तै, मोबाइल नेटवर्कमा प्रयोग हुने अन्य प्रकारका वायरलेस टेलिफोन उपकरण ६ लाख १५ हजार २३ थान आयात भएका छन् । ती उपकरणको मूल्य ५४ करोड ४४ लाख रुपैयाँभन्दा बढी रहेको छ । यसले स्मार्टफोनको बढ्दो प्रयोगसँगै मोबाइल फोनका सहायक सामग्री र सञ्चार उपकरणको मागसमेत विस्तार भइरहेको देखाउँछ ।

स्मार्टफोन आयात बढिरहेको अवधिमा नेपालको समग्र वैदेशिक व्यापारमा पनि आयातको आकार विस्तार भएको छ । भन्सार विभागका अनुसार चालु आर्थिक वर्षको पहिलो चार महिनामा मुलुकको कुल आयात ८ खर्ब ३ अर्ब ९ करोड ८७ लाख रुपैयाँ पुगेको छ । गत आर्थिक वर्ष २०८२/८३ को सोही अवधिमा ६ खर्ब ९ अर्ब ४५ करोड १२ लाख रुपैयाँको वस्तु आयात भएको थियो । यसअनुसार एक वर्षको अवधिमा कुल आयात ३१.७७ प्रतिशतले बढेको छ ।

कुल आयातको तुलनामा स्मार्टफोनको हिस्सा करिब २.५८ प्रतिशत रहेको छ । परिमाण र मूल्य दुवैका आधारमा स्मार्टफोन नेपालको वैदेशिक व्यापारमा महत्वपूर्ण वस्तुका रूपमा देखिएको छ । ठूलो परिमाणमा स्मार्टफोन आयात हुँदा यसले मुलुकबाट हुने विदेशी मुद्रा बहिर्गमनमा समेत योगदान पुर्‍याएको छ । अर्कोतर्फ, स्मार्टफोन आयातबाट सरकारले उल्लेख्य राजस्व प्राप्त गरिरहेको छ ।

भन्सार विभागले सार्वजनिक गरेको तथ्यांक साउनदेखि कात्तिकसम्मको हो । विभागले २४ प्रमुख भन्सार कार्यालयमा सञ्चालनमा रहेको भन्सार प्रणालीबाट प्राप्त विवरणका आधारमा तथ्यांक तयार गरेको जनाएको छ । उक्त प्रणाली लागू नभएका भन्सार बिन्दुबाट हुने आयात तथा निर्यातको विवरण यसमा समावेश छैन । विभागले तथ्यांक प्रारम्भिक रहेको र वार्षिक व्यापार विवरण तयार गर्दा संशोधन हुन सक्ने स्पष्ट पारेको छ ।

1

Scroll to Top