Banijya News

औद्योगिक उत्पादन सूचकांक २.२ प्रतिशतले बृद्धी, मूल्य सूचकांक कति ?

1
1.1K Shares

औद्योगिक उत्पादन सूचकांक २.२ प्रतिशतले वृद्धि भएको छ l सोही अवधिमा औद्योगिक उत्पादक मूल्य सूचकांक ३ प्रतिशतले बढेको छ । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमासमा नेपालको उत्पादनमूलक क्षेत्रमा सुधारको संकेत देखिएको राष्ट्रिय तथ्यांक कार्यालयले जनाएको छ ।

तथ्यांक कार्यालयले सार्वजनिक गरेको विवरणअनुसार उत्पादनमूलक उद्योग (म्यानुफ्याक्चरिङ) क्षेत्रको उत्पादन सूचकांक अघिल्लो आर्थिक वर्षको सोही त्रैमासको १२३ बाट बढेर १२५.२ पुगेको छ । यसलाई मध्यमस्तरको वार्षिक वृद्धि मानिएको छ । कार्यालयका अनुसार खाद्यतेल, पेट्रोलियमजन्य वस्तु, रासायनिक पदार्थ तथा केही उपभोग्य सामग्रीको उत्पादनमा वृद्धि देखिएको छ । तर निर्माणसँग सम्बन्धित उद्योग, कपडा तथा केही अन्य क्षेत्रमा भने अपेक्षाकृत सुधार हुन सकेको छैन ।

औद्योगिक उत्पादनसँगै मूल्यतर्फ पनि वृद्धि देखिएको छ । चालु आवको पहिलो त्रैमासमा औद्योगिक उत्पादक मूल्य सूचकांक १६४.२६ पुगेको छ, जुन अघिल्लो आवको सोही त्रैमासको १५९.४१ को तुलनामा करिब ३ प्रतिशतले बढी हो । अघिल्लो त्रैमासको तुलनामा भने यो सूचकांक ०.५ प्रतिशतले मात्र बढेको छ ।

तथ्यांक कार्यालयका प्रवक्ता ढुण्डीराज लामिछानेका अनुसार औद्योगिक मूल्य सूचकांक कारखानाको गेटमा कायम हुने मूल्यका आधारमा गणना गरिन्छ । उनका अनुसार पछिल्लो तथ्यांकले उत्पादक मूल्यमा छोटो अवधिमा सामान्य तर स्थिर वृद्धि भएको देखाउँछ । कच्चा पदार्थ, ऊर्जा, श्रम लागत तथा आयातित मध्यवर्ती वस्तुको मूल्यमा आएको परिवर्तनका कारण वार्षिक आधारमा मूल्य सूचकांक उकासिएको हो ।

उच्च भार भएका उद्योगतर्फ हेर्दा सिमेन्ट, वनस्पति तेल, सुर्तीजन्य उत्पादन, साबुन तथा डिटर्जेन्ट, केही खाद्य वस्तु, रासायनिक पदार्थ र पेयपदार्थमा उत्पादक मूल्य वृद्धि देखिएको छ । माग तुलनात्मक रूपमा स्थिर रहेकाले लागत वृद्धिको केही हिस्सा मूल्यमा समायोजन गरिएको देखिन्छ । तर निर्माण तथा लगानीसँग सम्बन्धित उद्योग—जस्तै फलामजन्य वस्तु, चामल, प्लास्टिक पाइप फिटिङ्स र इँटामा भने मूल्य वृद्धिदर कमजोर वा ऋणात्मक देखिएको छ ।

यस्तै, निर्माण क्षेत्रको लागत मूल्य सूचकांक अघिल्लो आवको सोही अवधिको तुलनामा १.४ प्रतिशतले बढे पनि अघिल्लो त्रैमासको तुलनामा १.३९ प्रतिशतले घटेको छ । सिमेन्ट, आइरन रड, बालुवा, काठ र रोडाजस्ता सामग्रीको मूल्य घटेकाले सूचकांकमा कमी आएको तथ्यांक कार्यालयले जनाएको छ ।

कृषि क्षेत्रमा पनि मूल्य वृद्धि देखिएको छ । चालु आवको पहिलो त्रैमासमा कृषि उत्पादक मूल्य सूचकांक अघिल्लो आवको सोही अवधिको तुलनामा २.५ प्रतिशतले बढेको छ । समग्रमा, उत्पादन र मूल्य दुवै सूचकांकमा देखिएको वृद्धिले अर्थतन्त्र बिस्तारै सुधारोन्मुख रहेको संकेत गरे पनि गति अझै कमजोर रहेको तथ्यांकले देखाएको छ ।

1

Scroll to Top