Banijya News

नेपालमै पहिलोपटक ३५ करोड लगानीमा विश्वस्तरीय कस्मेटिक उद्योग सञ्चालन

1
1.0K Shares

नेपाली उपभोक्ता माझ बहुचर्चित कोरियन ‘स्किन केयर’ प्रविधिलाई भित्र्याउँदै नेपालमै विश्वस्तरीय सौन्दर्य सामग्रीको व्यावसायिक उत्पादन सुरु भएको छ। नेपाली ब्रान्ड ‘ओआरए’  ले ललितपुरको इमाडोलमा ३५ करोड रुपैयाँको लगानीमा अत्याधुनिक उद्योग स्थापना गरी आफ्ना उत्पादनहरू बजारमा ल्याएको हो।

कोरियन विज्ञान, उच्च प्रविधि, गहन अनुसन्धान र सोही देशको गुणस्तरीय कच्चा पदार्थको संयोजनमा नेपालमै पहिलोपटक यस्तो अन्तर्राष्ट्रिय स्तरको कस्मेटिक उद्योग सञ्चालनमा आएको हो। ‘ओआरए’ ब्रान्डको उत्पादन गरिरहेको एनके कस्मेटिक प्रालिका प्रमुख एवं गैरआवासीय नेपाली सङ्घका पूर्वअध्यक्ष विनोद कुँवरका अनुसार नेपाली उपभोक्ताले महँगो आयातित सामानको विकल्पमा अब स्वदेशमै उत्पादित उच्चस्तरीय सामान सुपथ मूल्यमा पाउनेछन्।

विदेशी कस्मेटिक्सको आयातले देशको ठुलो धनराशी बाहिरिइरहेको वर्तमान अवस्थामा यो स्वदेशी उद्योगले आयात प्रतिस्थापनमा समेत महत्त्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ। हाल यो उद्योगले व्यवस्थापन, उत्पादन र बजार व्यवस्थापन क्षेत्रमा २५ जना नेपालीलाई प्रत्यक्ष रोजगारी दिएको छ भने आगामी दिनमा यसको दायरा अझै विस्तार हुनेछ।

नेपाली र कोरियन उद्यमीहरूको संयुक्त सहकार्यमा सञ्चालित यस कम्पनीको उत्पादन विकासमा दक्षिण कोरियाका स्थापित सौन्दर्य सामग्रीविज्ञ जेहो हुरले प्राविधिक नेतृत्व गरिरहेका छन्। हाल कम्पनीले बजारमा ९ वटा मुख्य स्किन केयर उत्पादनहरू उपलब्ध गराइसकेको छ भने निकट भविष्यमै थप १० देखि १५ वटा नयाँ प्रडक्टहरू सार्वजनिक गर्ने तयारी तीव्र पारेको छ।

पूर्ण क्षमतामा सञ्चालनमा आउँदा यस उद्योगबाट १०० भन्दा बढी प्रकारका कस्मेटिक्स, स्किन केयर तथा व्यक्तिगत सौन्दर्य सामग्री उत्पादन गर्न सकिने कम्पनीले जनाएको छ। स्वदेशी कच्चा पदार्थको सम्भाव्यता र कोरियन प्रविधिको यो मिश्रणले नेपाली कस्मेटिक उद्योगमा नयाँ क्रान्ति ल्याउने विश्वास गरिएको छ।

1

Scroll to Top