नेपाल राष्ट्र बैंकले तत्कालीन राजाको तस्वीर अंकित कुनै पनि नोट प्रयोग नगर्न बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिदै दोस्रो पल्ट सर्कुलर गरेको छ । २०६५ सालमा पहिलोपल्ट सर्कुलर गरेको राष्ट्र बैंकले दोस्रोपल्ट फेरी पूर्व राजा अंकित तस्बिरका नोट निष्काशन र पुनःप्रयोगमा नल्याउन सर्कुलर गरेको हो ।
राष्ट्रबैंकको मुद्रा व्यवस्थापन विभागले आइतबार जारी गरेको परिपत्रमा बैंक तथा वित्तीय संस्थाहरुले नोटहरुलाई तीन समूहमा वर्गीकरण गरी सफा नोट मात्र चलनचल्तीमा ल्याउन समेत निर्देशन दिएको छ । तर ती नोट राजको तस्विर सम्लग्न हुनहुदैन् । राजाको तस्बीर अंकित नोट लिएर कोही बैंकमा गए सो नोट बराबरको हाल प्रचलित नोटबाट भुक्तानी पाइने तर बैंकले भने राजाको तस्बीर अंकित नोट चलनमा नल्याउने व्यवस्था गरिएको हो ।
नेपाल राष्ट्र बैकका डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीले नयाँ नोट निस्कासन नगरिने भएका कारण नोटको संरक्षण र नगद मौज्दातलाई बजारमा ल्याउने उद्धेश्यले सो परिपत्र जारी गरिएको बताए । उनका अनुसार अब बैंक तथा वित्तीय संस्थाले त्यस्ता नोट फेरि बजारमा पठाउन पाउने छैनन् ।
एटीएम लगायतका मेसिनहरुको माध्यमबाट चलनचल्तीमा पठाउन योग्य नोटको प्याकेटमा हरियो रंगको स्लिप प्रयोग गर्न भनेको छ । साथै तथा काउण्टरबाट भुक्तानी गरी चलनचल्तीमा पठाउन योग्य नोटको प्याकेटमा सेतो रंगको स्लिप प्रयोग गर्नुपर्नेछ । यसैगरी, चलनचल्तीमा पठाउन अयोग्य नोटको प्याकेटमा रातो रंगको स्लिप प्रयोग गर्न केन्द्रीय बैंकले निर्देशन दिएको छ । तीन खालका नोटहरुमा स्लिप प्रयोग गर्दा बैंक तथा वित्तीय संस्थाको सम्पूर्ण विवरण समेत अनिवार्य रुपमा हुनुपर्ने नियम समेत लागू गरेको छ ।


