फागुन १८, काठमाडौं ।
भ्रमण वर्ष २०२० लाई लक्षित गर्दै ७० वर्ष नाघेका आन्तरिक तथा बाह्य पर्यटकलाई चन्द्रागिरि केवलकार चढ्न पैसा नलाग्ने भएको छ । चन्द्रागिरि हिल्सले ज्येष्ठ नागरिकहरुको सम्मानका लागि केवलकार सेवा निःशुल्क दिने व्यवस्था गरेको हो ।
सबै उमेरका व्यक्तिका लागि निर्माण गरिएको एकीकृत पर्यटकीय गन्तव्यमा ज्येष्ठ नागरिकहरुको भ्रमणलाई उत्साहित बनाउको साथैे ज्येष्ठ नागरिकहरूको सम्मानका लागि ७० वर्ष भन्दा माथिका व्यक्तिका लागि केवलकार सेवा निःशुल्क प्रदान गर्ने योजना ल्याएको चन्द्रागिरि हिल्स लिमिटेडले जनाएको छ ।
यो योजनाअन्र्तगतको सेवा लिन पर्यटकहरूले ज्येष्ठ नागरिकको परिचय खुल्ने आधिकारिक कागजात टिकट काउन्टरमा उपलब्ध गराउनुपर्ने छ । आफ्नो जन्मदिनको अवसरमा चन्द्रगिरि केवलकार चढ्न जाने आन्तरिक तथा बाह्य पर्यटकहरूलाई निःशुल्क केबलकारको व्यवस्था कम्पनी व्यवस्थापनले यस अघि नै गरिसकेको छ ।
साथै, केबलकारको शुल्कमा स्थानीय नागरिक र विद्यार्थीहरुलाई पच्चीस प्रतिशत र शारीरिक रुपमा फरक क्षमता भएका व्यक्तिलाई पचास प्रतिशत छुटको व्यवस्था कम्पनीले गर्दै आएको छ ।
ऐतिहासिक, साँस्कृतिक तथा प्राकृतिक महत्त्व बोकेको चन्द्रागिरि डाँडामा यस कम्पनीले भालेश्वर महादेव मन्दिर, सत्तल, भ्यूटावर, चिल्ड्रेन पार्क, सेमिनार हलर रिसोर्ट लगायतका पूर्वाधार निर्माण गरेर चन्द्रागिरि डाँडालाई एकीकृत पर्यटकीय गन्तव्यको रूपमा विकास गरिरहेको छ


