Banijya News

जनसचेतन सहकारीद्धारा ७५ वर्ष उमेर पुगेका सदस्यहरूलाई सहारा भत्ता वितरण गर्दै

1
1.1K Shares

 

दोलखाको बैतेश्वर गाउँपालिका वडा नम्बर–५ मैनापोखरीमा मुख्य कार्यालय रहेको देशभरिकै उत्कृष्ट मध्यको जनसचेतन बचत तथा ऋण सहकारी संस्थाले ७५ वर्ष उमेर पुगेका सदस्यहरूलाई मासिक पाँच सय रुपैयाँको दरले जनसचेतन आजीवन सहारा भत्ता वितरण गर्दै आएको छ।

जनसचेतन बचत तथा ऋण सहकारी संस्थाले नाफा रकमबाट १३ वर्ष अघि २०६७ सालदेखि जनसचेतन आजीवन सहारा भत्ता वितरण गर्दै आएको संस्थाका अध्यक्ष हेमन्त चौलागाईंले बताए।

‘आजको बचत, भोलीको भविष्य’ भन्ने सहकारी संस्थाहरूको नारा अनुसार ढल्कँदो उमेरमा सहकारी मेरो सहारा छ भन्ने भरोसा बोनस भनेर जनसचेतन आजीवन सहारा भत्ता सुरु गरिएको अध्यक्ष चौलागाईंको भनाइ छ।

यो भत्ता प्राप्त गर्न कुनै अतिरिक्त शुल्क नलाग्ने तर ६० वर्ष उमेर पुग्नु अगावै सहकारी संस्थाको सदस्य भएको र २० हजारसम्मको सेयर तथा ३० हजारसम्म बचत रहेको वा सेयर रकम कम भएपनि ५० हजारसम्म बचत रहेको सदस्यहरूलाई जनसचेतन आजीवन सहारा भत्ता उपलब्ध गराइने संस्थाका प्रमुख कार्यकारी अधिकृत नवराज दाहालले बताए।

प्रत्येक तीन-तीन महिनामा उपलब्ध गराइने यो भत्ता माघ महिनामा एक सय १२ जनाले प्राप्त गरेको प्रमुख कार्यकारी अधिकृत दाहालले बताए।

संस्थामा फागुन मसान्तसम्म कुल बचत एक अर्ब ८४ करोड २३ लाख ७१ हजार चार सय ३५ रुपैयाँ र कुल लगानी एक अर्ब ७५ करोड ४६ लाख ९२ हजार सात सय ८५ रुपैयाँ रहेको प्रमुख कार्यकारी अधिकृत दाहालले बताए।

त्यसै गरी संस्थाको सेयर पुँजी १६ करोड ६३ लाख ९७ हजार एक सय रुपैयाँ र कुल सम्पत्ति दुई अर्ब ५२ करोड एक लाख ३१ हजार चार सय १७ रुपैयाँ रहेको दाहालले बताए।

1

Scroll to Top