नेपाल राष्ट्र बैंकले नियमविपरीत सञ्चालन भएका र संस्थागत सुशासन कायम गर्न नसकेका विभिन्न लघुवित्त वित्तीय संस्थाहरूलाई कारबाही गरेको छ । न्यूनतम पुँजीकोष अनुपात कायम गर्न नसकेको भन्दै राष्ट्र बैंकले बनेपाको आरम्भ चौतारी लघुवित्त, तनहुँको गणपति लघुवित्त, बनेपाकै सामुदायिक लघुवित्त, नेरुडे मिर्मिरे लघुवित्त र पोखराको सिवाईसी लघुवित्त विरुद्ध ‘बैंक तथा वित्तीय संस्थाको शीघ्र सुधारात्मक कारबाही सम्बन्धी नियमावली, २०७४’ बमोजिम सुधारात्मक कदम चालेको हो ।
यी संस्थाहरूले २०८२ असार र असोज मसान्तको विवरण अनुसार तोकिएको सीमाभन्दा निकै कम (आरम्भ चौतारीले ७.७प्रतिशत, गणपतिले ६.०६प्रतिशत , सामुदायिकले ६.१२प्रतिशत , नेरुडे मिर्मिरेले ६.०१प्रतिशत र सिवाईसीले ६.२०प्रतिशत ) मात्रै पुँजीकोष कायम गरेको पाइएको छ ।
पुँजीकोषको अभावबाहेक आन्तरिक सञ्चालन र वित्तीय अनुशासन उल्लंघनका मामिलामा समेत राष्ट्र बैंकले कडाइ गरेको छ । सिवाईसी नेपाल लघुवित्तको सञ्चालक समितिले आर्थिक प्रशासन विनियमावलीको खर्च सीमा र अख्तियारी पालना नगरेको भन्दै सचेत गराइएको छ भने बागलुङको धौलागिरी लघुवित्तले नियमविपरीत नायब कार्यकारी अधिकृतलाई पुनरबहाली गरी अनुपस्थित अवधिको समेत रकम भुक्तानी गरेको पाइएको छ ।
यसैगरी, वित्तीय अनुशासन उल्लंघनकै आरोपमा नेरुडे मिर्मिरे लघुवित्तका प्रमुख कार्यकारी अधिकृत (CEO) भोजराज बस्याल पनि कारबाहीमा परेका छन् । उक्त संस्थाले ८१.५५ करोड रुपैयाँ बराबरको कर्जा नोक्सानी व्यवस्था (लोन लस प्रोभिजन) फिर्ता गर्दा कुन-कुन ऋणीको हो भन्ने यकिन विवरण नखुलाई नियमविपरीत आम्दानीका रूपमा देखाएको राष्ट्र बैंकले जनाएको छ ।


