माघ १७, काठमाडौं ।
युरोपेली युनियन (ईयु)मा रहिरहने वा छोड्ने भन्नेबारे जनमत संग्रह भएको साढे तीन वर्षपछि आज बेलायतले औपचारिक रुपमा ईयु छोड्दै छ । ग्रिनविच मिन टाइम अनुसार शुक्रबार राती ११ बजेर १ मिनेट (नेपाली समय अनुसार शनिवार बिहान ४ बजेर ४६ मिनेट) हुँदा बेलायत युरोपेली युनियन छोड्ने पहिलो देश हुनेछ ।
सन् २०१६ मा जनमत संग्रह भएयता बेलायतमा तीनवटा प्रधानमन्त्री बनिसकेका छन् भने संसद्मा यही विषयमा पटक–पटक मतदान भएको छ । यी सबै प्रक्रियालाई आजको निर्णयले औपचारिकता प्रदान गर्नेछ ।
यो प्रलयकारी घटनाले ल्याएको परिवर्तन भने बेलायतका आम जनताले तत्काल महसुस गर्नेछैनन् । बेलायती सरकार र ईयुबीच भएको समझदारी अनुसार बेलायत संक्रमण कालमा प्रवेश गर्नेछ । उक्त समझदारीले निर्धारण गरे अनुसार आउँदो ११ महिनासम्म बेलायत ईयुको सदस्य राष्ट्र सरह रहनेछ ।
आज राती बेलायतमा वास्तवमै के हुनेछ ?
ब्रेक्जिट नाम दिइएको युरोपेली युनियन छोड्ने प्रक्रियाले औपचारिकता पाउनेछ । बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनले राष्ट्रका नाममा सन्देश दिनेछन् । उक्त सन्देश आशावादी हुने अनुमान गरिएको छ । ब्रेक्जिटका पक्षधरहरूले ठूलो हर्षोल्लासका साथ उत्सव मनाउनेछन् । देशैभर भोजहरू आयोजना गरिनेछन् । सन् २०१९ मा पटकपटक ब्रेक्जिटलाई असफल बनाउने विपक्षी दल पनि यसमा सहभागी हुनेछ ।
सैद्धान्तिक रुपमा धेरथोक परिवर्तन हुनेछ तर व्यवहारमा निकै कम ।
ब्रेक्जिटका विपक्षमा मतदान गर्नेहरूले सधैंजस्तै बेलायतभर प्रदर्शन गर्नेछन् । ईयुको मुख्यालय रहेको ब्रसेल्स (बेल्जियम)को माहौल भने मलिन हुनेछ । ईयुका सबैजसो संस्थाहरूबाट बेलायतको झण्डा निकालिनेछ । सम्भवतः एउटा झण्डा भने ब्रसेल्सको संग्रहालयमा राखिनेछ । सम्भवतः ईयुका वरिष्ठ नेताहरूले ‘युरोपका लागि आजको दिन सबैभन्दा दुखद रहेको’ भन्दै विज्ञप्ति सार्वजनिक गर्नेछन् । बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनले राष्ट्रका नाममा सन्देश दिनेछन् । तस्वीरः सीएनएन
आजै राती हुने तात्विक परिवर्तन के हुनेछ त ?
सैद्धान्तिक रुपमा धेरथोक परिवर्तन हुनेछ तर व्यवहारमा निकै कम । बेलायतले ईयु छोडे पनि राती ११ बजेर १ मिनेटमा (जिएमटी अनुसार) पनि उसले ईयुको कानून र युरोपेली अदालतलाई स्वीकारी रहनेछ । आउँदा महिनाहरूमा पनि यसले ईयु बजेटका लागि पैसा दिइरहनेछ र ईयुको कानूनमा हुने परिवर्तनलाई पनि स्विकारिरहनेछ । अर्थात् अधिकांश परिवर्तन सांकेतिक हुनेछ । ईयुका संस्थाहरूमा अर्थपूर्ण प्रतिनिधित्व गर्न र ईयुका नेताहरूको बैठकमा सहभागी हुन भने बेलायतलाई दिइनेछैन । यसको अर्थ हो, आउँदो केही महीनासम्म बेलायतले ईयुका नीति निर्माणमा कुनै भूमिका नखेली यसको कानून चुपचाप स्विकार्नेछ ।
केमा परिवर्तन हुने छैन ?
सर्वसाधारणलाई प्रभाव पार्ने धेरै थोक जस्ताको तस्तै हुनेछ । व्यापार–व्यवसाय सधैंजस्तै स्वभाविक गतिमा चल्नेछ । संक्रमणकालभर युरोपमा यात्रा गर्ने मानिसलाई कुनै असर पर्नेछैन । यो अवधिभर ईयुका नागरिक युरोपभर स्वतन्त्रतापूर्वक घुम्न पाउनेछन् ।
संक्रमण कालपछि के हुनेछ ?
संक्रमण कालको पहिलो चरणको अन्त्यसँगै दोस्रो चरण शुरु हुनेछ ।
आउँदो ११ महीनामा बेलायत र ईयुबीच कुनै पनि सम्झौता हुनसकेन भने ब्रेक्जिट निर्मम हुनेछ । बेलायत सिंगो युरोपबाट पूर्णतः अलग्गिनेछ जसले दुवैतिर र सम्भवतः सिंगो विश्वलाई आर्थिक क्षति र्पुयाउनेछ ।
ब्रेक्जिटको संक्रमण काल ३१ डिसेम्बर २०२० मा सकिने छ । बेलायतले भविष्यमा ईयुसँग राख्ने सम्बन्धबारे यही ११ महिनाभित्र वार्ता गरिसक्नुपर्नेछ । यस बीचमा कुनै पनि सम्झौता हुनसकेन भने ब्रेक्जिट निर्मम हुनेछ । बेलायत सिंगो युरोपबाट पूर्णतः अलग्गिनेछ जसले दुवैतिर र सम्भवतः सिंगो विश्वलाई आर्थिक क्षति र्पुयाउनेछ । दुवै पक्षले यो अवस्था पन्छाउन चाहन्छन् ।
युरोपेली युनियनसँगको औपचारिक वार्ता ३ मार्चबाट शुरु हुनेछ । त्यहीबेला नै दुवै पक्षले आफ्ना प्राथमिकता र सिमितता तय गर्नेछन् ।
व्यापारमा पार्ने असर
ईयु र बेलायतबीच हुने वार्ताहरू भविष्यको व्यापार सम्बन्धमा केन्द्रित हुनेछन् । व्यापार सम्बन्धी वार्ताहरू टुंगोमा पुग्न दशक नै नलागे पनि केही वर्ष त पक्कै लाग्नेछ । उदाहरणका लागि, क्यानडासँग ईयुको सम्झौताले आकार ग्रहण गर्न सात वर्ष लागेको थियो । आफ्नो जटिल आन्तरिक राजनीतिका कारण ईयुले सम्झौतालाई टुंगोमा र्पुयाउन समय लगाउँछ । यद्यपि, आशाका किरणहरू किन जिवित छन् भने बेलायत–ईयु वार्ता गठबन्धनको विन्दुबाट शुरु हुनेछ । अरु व्यापार वार्ताभन्दा यो वार्ता यस अर्थमा फरक छ ।
बेलायतले ईयुको बजारसम्म पहुँच राख्नका लागि कति तिर्नेछ भन्ने प्रश्न भने बाँकी नै रहनेछ । त्यस्तै सुरक्षा साझेदारी, उड्डयन र समुद्र प्रयोगबारे धेरै प्रश्न बाँकी नै रहनेछन् ।
प्रधानमन्त्री जोन्सनले औपचारिक रुपमा सीमाहरू उल्लेख गरिसकेका छैनन् । तर आयात र निर्यातलाई सक्दो सम्भव बनाएर स्वतन्त्र व्यापार सम्झौता अस्विकार गर्नु उनका लागि सुरक्षित उपाय हुनेछ जसले बेलायतलाई ईयुका कठोर नियमहरूबाट मुक्त गराउनेछ । ईयुको नियमनबाट लचिलो भएर व्यापार कायम राख्न सके बेलायतलाई अमेरिका र चीनजस्ता देशसँग व्यापार सम्बन्ध बढाउन सजिलो हुनेछ । –सीएनएनबाट


