देशका विभिन्न स्थानमा एलपी ग्यासको अभाव देखिएको भन्दै उपभोक्तामा चिन्ता बढिरहेका बेला नेपाल आयल निगमले साउन महिनामा इतिहासकै उच्च परिमाणमा एलपी ग्यास आयात भएको तथ्यांक सार्वजनिक गरेको छ। निगमका अनुसार पछिल्लो पाँच महिनामा ग्यासको आयात निरन्तर बढ्दै गएको छ भने साउनमा मात्रै ५० हजार मेट्रिक टनभन्दा बढी एलपी ग्यास आयात भएको छ।
निगमले सार्वजनिक गरेको तथ्यांकअनुसार २०८२ चैतमा ३५ हजार ७९९.३५ मेट्रिक टन एलपी ग्यास आयात भएको थियो। सो महिनामा करिब २७ लाख ३२ हजार ३५५ सिलिन्डर ग्यास बजारमा पठाइएको निगमले जनाएको छ। त्यसपछि नयाँ आर्थिक वर्ष सुरु भएसँगै ग्यासको आयातमा थप वृद्धि भएको देखिन्छ।
निगमका अनुसार २०८३ वैशाखमा ३२ हजार ५६.४४ मेट्रिक टन एलपी ग्यास आयात भएको थियो। त्यसैगरी जेठमा ३२ हजार ५४२.२९ मेट्रिक टन र असारमा ४४ हजार ४४४.४० मेट्रिक टन ग्यास आयात भएको थियो। साउनमा भने आयात बढेर ५० हजार ३९६.३५ मेट्रिक टन पुगेको छ।
यसरी पछिल्लो पाँच महिनाको तथ्यांक हेर्दा साउनमा एलपी ग्यासको आयात सबैभन्दा उच्च देखिएको छ। ग्यासको अभावलाई लिएर उपभोक्तामा त्रास बढेको समयमा नै ठूलो परिमाणमा ग्यास आयात भएको निगमको तथ्यांकले देखाएको छ। निगमका अनुसार साउनमा आयात भएको ग्यासको परिमाण सामान्य अवस्थाको तुलनामा समेत उल्लेख्य रूपमा बढी हो।
काठमाडौं उपत्यकामा मात्रै मासिक करिब ४५ हजार मेट्रिक टन एलपी ग्यासको माग हुने गरेको निगमले जनाएको छ। यस्तो अवस्थामा साउनमा उपत्यकाको मागभन्दा समेत बढी परिमाणमा ग्यास आयात भएको देखिन्छ। तर, माग र आपूर्तिबीचको असन्तुलन, उपभोक्ताले आवश्यकता भन्दा बढी ग्यास खरिद गर्ने प्रवृत्ति तथा बजारमा देखिएको मनोवैज्ञानिक त्रासका कारण कतिपय स्थानमा अभावको अवस्था सिर्जना भएको निगमको भनाइ छ।
निगमका प्रवक्ता मनोजकुमार ठाकुरले पछिल्लो समय उपभोक्ताले बढीभन्दा बढी ग्यासको माग गरेपछि आयात र खपत दुवै बढेको बताएका छन्। ग्यासको अभाव हुने आशंकामा उपभोक्ताले आवश्यकताभन्दा बढी सिलिन्डर खरिद गर्न खोज्दा बजारमा असहज अवस्था सिर्जना भएको उनको भनाइ छ।
निगमले आगामी दिनमा पनि एलपी ग्यासको आयात तथा बिक्री–वितरण नियमित रूपमा जारी रहने स्पष्ट पारेको छ। आपूर्ति व्यवस्थालाई सहज बनाउन आवश्यकताअनुसार ग्यास आयात भइरहेकाले उपभोक्ताले अनावश्यक रूपमा ग्यास भण्डारण नगर्न निगमले आग्रह गरेको छ।
निगमका अनुसार बजारमा पर्याप्त आपूर्ति भइरहेका बेला उपभोक्ताले अभावको डरमा ग्यास थुपार्दा वास्तविक अभाव नभए पनि कृत्रिम अभाव सिर्जना हुन सक्छ। त्यसैले निगमले आम उपभोक्तालाई संयमित हुन, आवश्यकताअनुसार मात्रै ग्यास खरिद गर्न र अनावश्यक रूपमा सिलिन्डर सञ्चित नगर्न आग्रह गरेको हो।
पछिल्लो तथ्यांकले देशमा एलपी ग्यासको आपूर्ति नै घटेर अभाव भएको भन्दा पनि मागमा आएको अस्वाभाविक वृद्धि र उपभोक्ताको सञ्चित गर्ने प्रवृत्तिले बजारमा समस्या देखिएको हुनसक्ने संकेत गरेको छ। निगमले आपूर्ति नियमित राख्ने प्रतिबद्धता जनाउँदै उपभोक्तालाई ग्यासको उपलब्धताप्रति अनावश्यक रूपमा चिन्तित नहुन आग्रह गरेको छ।।


