२१ माघ, काठमाडौं ।
आन्तरिक उडानमा आक्रमक रुपमा बजार विस्तार गरिरहेको श्री एयरलाइन्सबाट अब सस्तोमा उडान गर्न पाइने भएको छ । एयरलाइन्सलले काठमाडौँ–पोखराका लागि मात्र दुई हजार भाडा कायम गरेको छ भने पोखरा–काठमाडौँ सम्मका लागि भाडा दर दुई हजार ६०० निर्धारण गरेकोे कम्पनीले विज्ञप्ति मार्फत जनाएको छ ।
निजी क्षेत्रको वायुसेवा प्रदायक कम्पनी श्रीले पोखरा–काठमाडौँको भाडा दर अहिलेसम्मकै सबैभन्दा कम राखेको हो । पोखरामा एकाधिकार जमाएका दुई ठूला वायुसेवा प्रदायक कम्पनी बुद्ध एयर र यती एयरलाइन्सको पोखराबाट काठमाडौँ आउँदा पाँच हजार ५० सम्म भाडा दर थियो ।
श्रीले पर्यटकीय क्षेत्रको व्यावसायिक सम्भावना तथा यात्रुको सुविधालाई मध्यनजर गरी पोखरामा सेवा विस्तार गरेको जनाएको छ ।
श्रीले अहिले भद्रपुर, विराटनगर, भैरहवा, नेपालगञ्ज र धनगढीमा उडान भर्दै आएको छ । कम्पनीसँग सिआरजे २०० र दुई सिआरजे ७०० गरी पाँच जहाज छन् । एयरलाइन्सले सन् २०१७ देखि फिक्स्ड विङबाट नियमित उडान शुरु गरेको थियो ।


