Banijya News

बैंकको नाफा खुम्चिँदै, बैंकहरूको खुद नाफा यस वर्ष साढे ६ प्रतिशतमा सीमित

1
1.1K Shares

०२ फागुन, २०७६, काठमाण्डौ ।
बैंकले चालू आर्थिक वर्षको दोस्रो त्रैमासिक वित्तीय विवरण धमाधम सार्वजनिक गर्न थालेका छन् । अघिल्लो आर्थिक वर्षको पुससम्म २९ प्रतिशत बढेको बैंकहरूको खुद नाफा यस वर्ष साढे ६ प्रतिशतमा सीमित भएको छ ।सञ्चालन खर्च बढ्दा तथा स्प्रेड दरका कारण वाणिज्य बैंकको नाफा चालू आर्थिक वर्षकोे पहिलो ६ महीनामा खस्किएको पाइएको हो ।
चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा २७ वाणिज्य बैंकले ३२ अर्ब ७५ करोड रुपैयाँ खुद नाफा कमाएका छन् । गत वर्षको दोस्रो त्रैमासको तुलनामा गत पुससम्मको नाफा करिब साढे ६ प्रतिशत मात्र बढेको हो । गत आवको दोस्रो त्रैमासमा २५ प्रतिशत रहेको बैंकको नाफा वृद्धिदर यस आवको सोही अवधिमा मात्र ८ दशमलव ७५ प्रतिशत रहन पुगेको छ ।
यस वर्ष बढी नाफा कमाउने बैंकको पहिलो पाँच सूचीमा राष्ट्रिय वाणिज्य बैंक, नबिल बैक, एनआईसी एशिया बैंक, हिमालयन बैंक र ग्लोबल आईएमई बैंक रहेका छन् ।
वित्तीय विवरणअनुसार जनता बैंकलाई मर्जमा ल्याएको ग्लोबल आईएमइ बैंकको चुक्ता पुँजी सर्वा्धिक १८ अर्ब ९७ करोड ५८ लाख ७९ हजार रहेको छ ।

यस अवधिमा राष्ट्रिय वाणिज्य बैंकले रू. २ अर्ब २० करोड नाफा कमाएको छ भने नबिलले रू. २ अर्ब ४ करोड कमाएको छ । तर, यी दुवै बैंकको नाफा गत आवको भन्दा कम छ । राष्ट्रिय वाणिज्य बैंकको नाफा ८ दशमलव ३१ प्रतिशत र नबिलको ६ दशमलव २ प्रतिशत घटेको छ ।नबिलले चालू आवको पछिल्लो अवधिमा दुई अर्ब चार करोड १८ लाख ६१ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आवको दोस्रो त्रैमासिकमा ३७ करोड नौ लाख ९७ हजार रुपैयाँ खुद मुनाफा कमाएको सिभिलको व्यवस्थापन खर्च बढेकाकारण चालू आवको दोस्रो त्रैमासिकमा नाफा घटेर ३१ करोड ६२ लाख ४७ हजार रुपैयाँमा झरेको छ । सिभिलले आर्जन गरेको यो मुनाफा वाणिज्य बैंकहरु मध्येमा सबैभन्दा कम हो ।


पछिल्लो समय बैंकको नाफा वृद्धिदरप्रति बैंकरहरू सन्तुष्ट छैनन् । विगतका वर्षमा बैंकहरूको नाफा दोहोरो अंकको प्रतिशतमा वृद्धि हुने गरेको थियो । तर, चालू आवको सुरुवातदेखि बैंकको नाफा खुम्चिँदै गएको छ । अपेक्षित रूपमा व्यवसाय बढ्न नसक्दा सञ्चालन मुनाफामा कमी आउनु, कर्जा र निक्षेपबीचको ब्याजअन्तर (स्प्रेड) घट्नु, सञ्चालन खर्च बढ्नुलगायत कारण नाफा वृद्धिदर खुम्चिएको हो ।

1

Scroll to Top