चैत्र ५, काठमाडौँ
विशेषज्ञहरुले कोरोनाभाइरसको अबको केन्द्र भारत बन्न सक्ने चेतावनी दिएका छन् ।
विश्वकै दोस्रो ठूलो जनसंख्या भएको भारतमा एसियाका अन्य देशमा प्रभावकारी देखिएका सतर्कताका उपायहरु भारतमा भने प्रभावकारी नहुन सक्ने चेतावनी दिएका हुन् ।
भारतको लद्दाखमा बुधबार थप दुईजनामा कोरोना भाइरस (कोभिड-१९)को सङ्क्रमण देखिएको छ। यो सँगै भारतमा अहिलेसम्म १३९ जनामा यो भाइरसको संक्रमण देखिएको छ । यसमध्ये तीनजनाको ज्यान गइसकेको छ ।
भाइरसको प्रकोप बढ्दै गएपछि भारतले सीमा बन्द गर्ने, अन्य देशबाट आउनेहरु सबैको परीक्षण गर्ने र संक्रमण पुष्टि भएकाहरुसँग सम्पर्कमा भएकाहरुलाई समेत खोजी गरी क्वारेन्टाइनमा राख्ने जस्ता प्रयास गरिरहेको छ ।
मंगलबार भारतको चिकित्सा अध्ययन परिषद्ले कोरोना परीक्षणको क्षमता बढाएर दैनिक ८ हजार जनाको परीक्षण गर्न सकिने बनाउने निर्णय गरेको छ । अहिले भारतमा दैनिक ५०० जनाको मात्र परीक्षण गर्ने क्षमता छ ।
भारतमा अहिलेसम्म संक्रमणको वृद्धिदर ढिलो छ तर यो दर अप्रिल १५ सम्ममा बढेर १० गुणा उच्च हुने डा. टी ज्याकब जोनले बताएका छन् । यो भाइरस ठूलो महामारी हो भन्ने भारतले नबुझेको उनको भनाइ छ ।
भारतको आर्थिक राजधानी मुम्बइ रहेको यो राज्य स्टक एक्सचेन्जको पनि बेन्चमार्क हो । यहीँ सबैभन्दा धेरै संक्रमण फैलिएको छ । महाराष्ट्रमा मात्र ३९ संक्रमित भेटिएका छन् । महाराष्ट्र सरकारले सोमबार यहाँका शहरहरुलाई ‘भर्चुअल लकडाउन’को घोषणा गरेको छ । यहाँका सबै सार्वजनिक स्थल बन्द गरिएका छन्, विश्वविद्यालयको परीक्षा स्थगित गरिएको छ र सबै सरकारी तथा निजी कम्पनीका कर्मचारीमध्ये आधालाई घरबाटै काम गर्न भनिएको छ ।


