बैशाख ०४, काठमाडौं ।
विश्वब्यापी महामारीको संकट भोगिरहेको समय वीमा समितिले भाइरस विमा अगाडि सारेको छ ।
समितिले कोरोना भाइरस (कोभिड(१९) को रोगबाट हुने आर्थिक क्षतिलाई कम गर्न तीन सय रुपैयाँ तिरेर ५० हजारसम्मको बिमा गर्न सकिने व्यवस्था गरेको छ । बिमा समितिले आज निर्जीवन बिमा कम्पनीलाई यस्तो व्यवस्था गर्न निर्देशन दिएको हो ।
एक लाख रुपैयाँ र ५० हजार रुपैयाँ बिमाङ्कको अलगअलग बिमालेख रहेका छन् । एक लाख बिमाङ्कका लागि व्यक्तिगत रूपमा बिमा गर्दा प्रतिव्यक्ति एक हजार रुपैयाँ र सम्पूर्ण परिवारको सदस्यको समेत गर्ने गरी बिमा समावेश भएमा प्रतिव्यक्ति ६ सय रुपैयाँ बिमा शूल्क कायम गरिएको बिमा समितिले जनाएको छ ।
यस्तै, ५० हजार रुपैयाँ कूल बिमाङ्क रकमको लागि प्रतिव्यक्ति ५ सय रुपैयाँ र परिवारको सम्पूर्ण सदस्यको बिमा गर्दा प्रतिव्यक्ति ३ सय रुपैयाँ बिमा शूल्क कायम गरिएको छ ।
दाबीका लागि भने बिमा सुरु भएको १५ दिनसम्म प्रतिक्षा अवधि रहनेछ । दाबी भुक्तानीका लागि कोरोना भाइरस पुष्टि हुने पीसीआर नतिजा पोजेटिभ हुन साथ दाबी गर्न सकिनेछ ।
कोरोना भाइरस बिमाको व्यवस्थापन लघुबिमाअन्तर्गत मौजुदा लघु बिमामार्फत गर्ने र बिमालेखहरू जारी गर्दा हाल कृषि बिमा तथा घुम्ती बिमाका लागि तोकिएका जिल्लामा कार्यरत बिमा कम्पनीले अनिवार्य रूपमा गर्नुपर्ने बिमा समितिले निर्देशन दिएको छ ।


