मध्यरातमा भएको सहमतिअनुसार निर्वाचन तत्कालीन राष्ट्रिय जनता पार्टी (राजपा) नेपाल र समाजवादी पार्टीले निर्वाचन आयोगमा नयाँ पार्टी दर्ता गराएका छन् । जनता समाजवादी पार्टीका रूपमा नयाँ पार्टी दर्ता गरिएको हो । बिहीबार निर्वाचन आयोगमा पुगेर दल दर्ता १३८८ मा दर्ता गरिएको हो ।
समाजवादीका केही सांसदले पार्टी फुटाउने तयारी गरेपछि त्यसलाई रोक्न दुई दलले एकताको घोषणा गरेको भोलिपल्ट बिहीबार उनीहरु अयोग पुगेका हुन् । दल दर्ताका लागि राजेन्द्र महतो,उपेन्द्र यादव, महन्थ ठाकुरलगायत निर्वाचन आयोग पुगेका थिए ।
नयाँ दलको मर्याद क्रममा पहिलो नम्बर महन्थ ठाकुर रहेको पत्रमा उल्लेख गरिएको छ । दोस्रोमा डा. बाबुराम भट्टराई रहेका छन् । अन्य नेताको मर्यादाक्रम पछि तोक्ने जनाइएको छ ।
तत्कालीन राजपा र समाजवादीका नेताहरु शरदसिंह भण्डारी र उपेन्द्र यादवले हस्ताक्षर गरेको पार्टी एकताको निर्णयको पत्र पनि आयोगमा बुझाएका छन् । बाँकी कागजपत्र पछि बुझाउने गरी निवेदन दर्ता गराएका हुन् ।
निवेदनका आधारमा निर्वाचन आयोगले कागजात अध्ययन गरी पछि आवश्यक निर्णय गर्नेछ । राजनीतिक दल सम्बन्धी ऐन २०७३ अनुसार एकीकरण पश्चात दल दर्ताका लागि निवेदन दिएपछि आवश्यक कागजात छानविन गरी ४५ दिन भित्र दल दर्ताको प्रमाण पत्र दिनुपर्ने व्यवस्था छ ।


