११ वैशाख, काठमाडौं ।
कोरोना भाइरस प्रभावित क्षेत्रलाई लक्षित गर्दै बैंक तथा वित्तीय संस्था परिसंघ नेपालले ल्याएको राहत प्याकेज बैंकरहरूले नमान्ने भएका छन् । परिसंघ र बैंकर्स एसोसिएसनबीच बिहीबार भएको अनलाइन बैठकबाट राष्ट्र बैंकको निर्देशन मात्र मान्ने निष्कर्ष निकालेका छन् ।
बैठकमा परिसंघको निर्णय आपत्तिजनक रहेको भन्दै राहत प्याकेजको काम राष्ट्र बैंकलाई नै छोड्नुपर्ने निणर्य गरेको हो । परिसंघले गत मंगलबार ब्याजदर घटाउनुका साथै ब्याजमा छुटको व्यवस्थाको निर्णय गरेको थियो भने लगानीको स्रोत नखोज्न आग्रहसमेत गरेको थियो ।
बैंकर्स एसोसिएसनले सम्पत्तिको स्रोतको बारेमा केही नबोलेपनि ब्याजको बारेमा विमति राखेको हो ।
बैंकका अध्यक्षहरूको संगठन परिसंघले कोरोना प्रभावितलाई लक्षित गर्दै १ करोड रूपैयाँसम्म कर्जा लिएका ऋणीहरूलाई १० प्रतिशतसम्म छुट तथा ब्याजदर घटाउँदै महिलाले १५ लाख रूपैयाँसम्म निक्षेप राख्दा शुद्धीकरण नहुनेजस्ता प्याकेज ल्याएको थियो ।
बैंकअनुकूल नभएको भन्दै बिहीबार भएको बैठकमा राहत प्याकेजलाई स्वीकार नगर्ने एसोसिएसनले निर्णय गरेको बैंकर्स एसोसिएसनका अध्यक्ष भुवन दाहालले बताए । दाहालका अनुसार राष्ट्र बैंकले ल्याएको योजनाअनुसार नै चल्ने तर परिसंघको प्रस्ताव मान्न नसकिने बताए । उनले १ जेटदेखि लागू हुनेगरी ब्याजदर घटाइसकिएको भन्दै थप घटाउन नसक्ने बताए ।


