सोमवार बिहान, नागढुङ्गा चेकपोस्ट वरपर ठूलै भिड लाग्यो । प्रहरीहरु एकाएक हाईअलर्टमा बसेर यात्रुलाई रोक्न थाले । यात्रुहरु धमाधम गाडीबाट ओर्लेर कोही भुइँमै थ्याच्च बसे त कोही बाहिर निस्केर हावामा जिउ तन्काउन थाले । जस्ले जे गरेपनि अनुहारमा खुशीको कुनै धर्सा देखिदैन थियो । थकित अनुहारका यात्रुहरु ठूल्ठूला ब्यागको भारीमा अढेस लगाएर आराम गर्न थाले त केही, बच्चालाई दुध खुवाउन थाले ।
केही भने प्रहरीले तोकेको सीमा छेउ उभिएर कराइरहेका थिए । तीमध्ये एक महिलाको आवाज केही चर्को सुनियो । ( ’वडाले म्यासेज नै पठाएर काठमाडौं र्पुयाउने जानकारी दियो । भर परेर आइयो । अहिले यहाँ आइपुग्दा रोकियो । प्रहरीले बर्दीको धाक देखाए ।’ उनले मोबाइल अघि सारेर म्यासेज देखाइरहेकी थिइन् जसमा लेखिएको थियो – ’आज बेलुका ३ बजे काठमाडौंका लागि बस छुट्ने भएकाले विराटनगर बसपार्कमा आइ बसिदिनु होला ।’
उनी बोलिसक्दा वरपर उभिएकाहरुले सही थापे । उभिएका सबै अन्यौलमा देखिन्थे । घरिघरी सीमा तोडेरै अघि बढ्न तम्सन्थे, प्रहरीलाई भिड नियन्त्रणमा लिनै हम्मेहम्मे पर्नेगरी । यी सबै मानिस लकडाउनका बाबजुद् विराटनगरदेखि काठमाडौं आइपुगेका हुन् ।
विराटनगरमा अलपत्र परेका यात्रुलाई महानगरपालिकाले नै सात वटा बस रिजर्भ गरेर पठाएपछि उनीहरु नागढुङ्गा चेकपोस्ट आइपुगेका हुन् । चेकपेष्टलाई माथिबाट आदेश आएपछि मात्र काठमाडौं प्रवेश गर्न दिएको थियो । विराटनगरबाट आएका यात्रुको व्यक्तिगत विवरण टिपेपछि प्रहरीले काठमाडौं भित्रिन दिएको छ ।
विराटनगर महानगरपालिकाले सात वटा बसमा १६० जना यात्रुलाई पठाएको थियो । महानगरले नै गाडी रिजर्भ गरेको थियो । उनीहरु सोमबार बिहान ८ बजे थानकोट आइपुगेका थिए । थानकोट प्रहरीले उनीहरुलाई गाडीबाट ओरालेर रोकेको थियो ।
विराटनगरमा रहेका काठमाडौंलगायत विभिन्न स्थानका यात्रुलाई महानगरले गाडीको व्यवस्था गरेको पठाएको थियो । उनीहरुलाई भने माथिको आदेश चाहिने भन्दै रोकेको थियो । यात्रु र प्रहरीबीच झण्डै १० घण्टा विवाद भएको छ । प्रहरीले सबैको व्यक्तिगत विवरण टिपेर काठमाडौं भि त्रिन दिने भने पनि अन्तमा आएर रोकिएको छ ।


