बैंशाख १६ , काठमाण्डाै –
सांसद सुरेन्द्र यादव ‘अपहरण प्रकरण’को जाहेरी प्रहरीले लिन नमानेपछि नवगठित जनता समाजवादी पार्टीले उक्त मुद्दा सरकारी वकिलको कार्यालय मार्फत अघि बढाउने तयारी स्वरुप समाजवादी पार्टीका शीर्ष नेता आफ्ना सांसद सुरेन्द्र यादव अपहरणको जाहेरी लिएर सरकारी वकिल कार्यालय पुगेका छन्।
यसअघि नेताहरु काठमाडौं प्रहरी परिसर पुगेपनि प्रहरीले सो उजुरी दर्ता गर्न अस्वीकार गरेको थियो ।
सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सांसदद्वय महेश बस्नेत र कृष्णकुमार श्रेष्ठ (किसान श्रेष्ठ) तथा नेपाल प्रहरीका पूर्वमहानिरीक्षक सर्वेन्द्र खनालविरुद्ध जाहेरी दर्ता गर्न डा. सुरेन्द्र यादव , राजेन्द्र महतो, उपेन्द्र यादव, अशोक राईलगायत जनता समाजवादीका शीर्ष नेता जाहेरी लिएर पुगेका हुन्।
उनीहरुसँग अपहरणमा परेका भनिएका डा. यादवपनि बबरमहलस्थित कार्यालय पुगेका छन् ।
सरकारी वकीलको कार्यालयले पनि हालसम्म उजुरी लिएको छैन भने अहिले त्यहाँका अधिकारी र नेताहरुबीच छलफल भइरहेको छ ।
पूर्व आईजीपी खनाल, श्रेष्ठ र बस्नेतले तत्कालीन समाजवादी पार्टी फुटाउने प्रयासमा १० वैशाखमा महोत्तरी पुगेर सांसद यादवलाई काठमाडौं ल्याएका थिए ।
समाजवादी पार्टी फुटाउने प्रयोजनका लागि सांसद यादवलाई महोत्तरीस्थित घरबाट नेकपा सांसद्वय र खनालले अपहरण गरेको जनता समाजवादीले दाबी गर्दै आएको छ।


