सोल (एजेन्सी)। उत्तर कोरियाली शासक किम जोङ उन सार्वजनिक भएको २४ घण्टा नबित्दै उत्तर कोरियाली र दक्षिण कोरियाली सैनिकबीच आज बिहान दुई देशको सीमा क्षेत्रमा गोली हानाहान भएको छ। दुई कोरियाली भू–भाग छुट्ट्याउने सीमा क्षेत्रमा ती देशका सेनाबीच गोली हानाहान भएको बीबीसीले जनाएको छ ।
दक्षिण कोरियाली सेनाले पहिले उत्तर कोरियाली सैनिकले गोली प्रहार गरेको र त्यसपछि दक्षिण कोरियाली सैनिकले जवाफी फायरिङ गरेको विज्ञप्तिमार्फत् जनाएको अलजजिरा अनलाइनले लेखेको छ।
घटनामा मानवीय क्षति नभएको बीबीसीले उल्लेख गरेको छ ।
उत्तर र दक्षिण कोरियाबीच पछिल्लो दुई बर्षयता चलेको शान्ति प्रयासका कारण यसबीचमा गोली हानाहान भएको थिएन। पछिल्लो पाँच वर्षयता पहिलोपल्ट उत्तर कोरियाली सैनिकहरूले दक्षिण कोरियातिर सिधै गोली चलाएको पनि बीबीसीले उल्लेख छ ।


