काठमाडौं, २५ वैशाख ।
सरकारले बन्द उद्योगधन्दामध्ये केहीलाई शुक्रबारदेखि सञ्चालन गर्न अनुमति दिएको छ । सरकारले लकडाउकै अवधिमा ४२ प्रकारका उद्योग सञ्चालन गर्न अनुमति दिएको हो । कार्यविधि समेत जारी गरेर त्यसअनुसार उद्योग चलाउन सरकारले भनेपछि उद्योगीको विरोधाभाष पूर्ण भनाई बाहिर आएको छ ।
उद्योगीले सबै मजदुर काममा आउँन सक्ने अवस्था नरहेको र उत्पादन भएको बस्तु समेत बजारमा सहजै प¥याउन देखि विक्री गर्न कठिन भएका कारण सरकारले भने जस्तो उद्योग खोल्न नसकिने उद्योगीले बताएका हुन् ।
नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष भवानी राणाले, ‘ सरकराले जसरी उद्योग खोल्नु भनेको छ सोही अनुसार तत्काल उद्योग खोल्न सहज छैन ।’ उनले केही प्रकृया पुरा गरेर विस्तारै उद्योग खोल्न सकिने बताईन ।
बढीमा ५ जनासम्म कामदार रहने गरी सवारी साधनहरुको मर्मत गर्ने वर्कसप, प्लम्बिङ तथा इलेक्ट्रिकल सेवा लगायतका सेवा खुला गर्न सकिने सरकारको निर्देशन छ । उद्योगीहरु लकडाउन समयमा अति आवश्यक खाद्य बस्तु उत्पादन हुने उद्याग, वर्कसप, प्याकेजिङका उद्योग भने खोल्न सकिने बताउँछन् । सरकारले कार्य विधीमा उद्योगमा काम गर्ने कामदारलाई एकै ठाउँ व्यवस्थित रुपमा राख्नु पर्ने भनेको छ । यसका अलावा, स्वास्थ्यका सम्पूर्ण मापदण्ड उद्योगले नै पूरा गर्नुपर्ने छ ।
सरकारले शुक्रबारबाट ४२ प्रकारका उद्योग चलाउने निर्णय गरेको छ । जस अनुसार दाल, चामल, तेल, चिउरा, चिनी, बिस्कुट, पिठो, पाउरोटी, चाउचाउ जस्ता दैनिक उपभोग्य खाद्यान्न र औषधि, स्वास्थ्य सामग्री, साबुन उत्पादन र सो को प्याकेजिङ सामग्री उत्पादन गर्ने उद्योग चलाउन भनेको छ । त्यस्तै, ग्यास बोटलिङ, उपभोग्य वस्तुसँग सम्बन्धित साना तथा घरेलु उद्योगहरु, निर्यातजन्य र विशेष आर्थिक क्षेत्रमा सञ्चालित र सिमेन्ट, डण्डी जस्ता निर्माणज्य उद्योगहरु खोलिने छ ।
उद्योग सञ्चालन भएपनि बजार खुला नभएर बिक्रीमा समस्या हुने उद्योगीहरुको भनाई छ । मान्छे बाहिर निस्किन नपाएपछि बजार माग तत्काल बढ्ने सम्भावना कम यस्तो अवस्थामा उद्योग खुलिहाल्नुको कुनै पनि औचित्य छैन् उद्योगी मनिष खेतान बताउँछन् । उनी भन्छन ‘सबै उद्योगले सामान उत्पादन गरेर स्टक राख्न सक्दैन ।’
बन्द भएका उद्योगलाई पुनः सञ्चालन गर्दा चरणबद्ध रुपमा खोल्दा राम्रो हुने व्यवसायीको सुझाव छ । पहिलो चरणका केही उद्योग खोल्ने र ती उद्योग सञ्चालन गर्दाको अनुभवका आधारमा अर्का चरणका उद्योग चलाउन सकिने व्यवसायीको भनाइ छ । पहिलो चरणमा अतिआवश्यक खाद्यान्न उद्योगहरु पूर्णरुपमा चलाउनु पर्ने उनीहरुको सुझाव छ


