काठमाडौं, २५ वैशाख ।
उपभोक्तासँग बढी मूल्य लिने तीन पसललाई वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले कारवाही गरेको छ । काठमाडौँको माकलबारीस्थित माँ अम्बे ट्रेड सप्लायर्स, राजभण्डारी स्टोर्स र बेस्ट किनमेल मार्टले उपभोक्तासँग बढी मूल्य लिएको पाइएपछि कारवाही गरेको हो ।
अनुगमनका क्रममा माँ अम्बे सप्लायर्स र राजभण्डारी स्टार्सले बिल जारी नगरी दोहोरो मूल्य कायम गरी स्टीमेट बील जारी गरेको पाइएको थियो । ती दुबै पसललाई बिहीबार अनुगमन तथा निरीक्षण टोलीले तीन–तीन लाख रुपैयाँ जरिवाना तिराएको हो ।
यस्तै बेस्ट किनमेल मार्टले व्यवसाय दर्ता नगरी मार्ट संचालन गरेको पाइएपछि अनुगमन टोलीले उक्त पसलका संचालकलाई ५० हजार रुपैयाँ जरिवाना तिराएको छ ।
उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा ३८ (ङ) अनुसार बढी मूल्य लिएको कसुरमा सोही ऐनको दफा ३९ (१) ख बमोजिम जरिवाना तिराएको को अनुगमन टोलीका निरीक्षण अधिकृत ध्रुव खनालले जानकारी दिए ।


