जेठ, काठमाडौं ।
आज संघीय संसदमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत हुँदैछ । आर्थिक वर्ष २०७७÷७८ का लागि सरकारको नीति तथा कार्यक्रम आज सङ्घीय संसद्को संयुक्त बैठकमा प्रस्तुत हुँदैछ ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नेतृत्वको सरकारले संसद्मा तेस्रो पटक आफ्नो नीति तथा कार्यक्रम ल्याउदैछ । अघिल्ला दुई वर्षका नीति तथा कार्यक्रममा समावेश भएजस्तै आर्थिक समृद्धिका कार्यक्रम आगामी आवको कार्यक्रममा समेत समेटिने विश्वास लिइएको छ । विश्वव्यापी महामारीका रुपमा देखिएको कोभिड–१९ का कारण परेको समस्यालाई सम्बोधन गर्नेतर्फ नीति तथा कार्यक्रम केन्द्रित हुने छ । यसैलाई लक्ष्ति गर्दे राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यक्रम रहेको छ ।
अपराह्न ४ः०० बजेका लागि संयुक्त बैठक आह्वान गरिएको छ । नीति तथा कार्यक्रम प्रस्तुत हुनु अगावै ३ः४५ बजे सबै सांसदलाई बैठक कक्षमा उपस्थितिका लागि अनुरोध गरिएको छ ।
संसदमा उच्च सतर्कता
कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले ०७६ चैत ११ गतेदेखि लकडाउन सुरु गरेयता संघीय संसदमा आज हालसम्मकै ठूलो जमघट हुने छ । प्रतिनिधिसभामा २७५ र राष्ट्रियसभामा ५९ सांसद छन् । बैठक कक्षमा नअटे बालकोनीमा बस्ने व्यवस्था मिलाइएको छ । कार्यक्रममा अतिविशिष्ट, विशिष्ट गरी करिब २९ पाहुनालाई आमन्त्रण गरिएको संसद् सचिवालयले जनाएको छ । उपराष्ट्रपति, संवैधानिक निकायका प्रमुख, पूर्वप्रधानमन्त्री, प्रधानसेनापतिलगायत विशिष्ट व्यक्तिलाई आमन्त्रण गरिएको छ ।
यस वर्ष संवैधानिक आयोगबाट पनि अध्यक्षलाई मात्र बोलाइएको छ । अघिल्ला वर्षहरुमा आयोगका सदस्यहरुलाई पनि बोलाउने गरिएकामा यस वर्ष अध्यक्षलाई मात्र बोलाइएको थियो । कोभिड–१९ सङ्क्रमणको जोखिमलाई मध्यनजर गर्दै यसपटक कूटनीतिक नियोग तथा निजी क्षेत्रका प्रतिनिधिलाई कार्यक्रममा सहभागिताका लागि खबर गरिएकको छैंन ।
संवैधानिक प्रावधानअनुसार सरकारले यही जेठ १५ गते आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्नेछ । त्यो बजेटमा उल्लेख हुने नीति तथा कार्यक्रम राष्ट्रपतिले सार्वजनिक गर्ने भएकी हुन् । संसद्मामा प्रि–बजेट छलफल सकिएको छ । राष्ट्रपतिले नीति तथा कार्यक्रम सार्वजनिक गरेपछि त्यसमाथि सांसदहरुले छलफल गर्ने छन् । सांसदहरुले उठाएको प्रश्नमाथि अर्थमन्त्रीले जवाफ दिने छन् । त्यो पनि सांसदहरुले पारित गर्नु पर्छ । यसपालीको बजेटमा स्वास्थ्य र रोजगारीलाई प्राथमिकतामा राखिएको छ । नीति तथा कार्यक्रममा पनि यिनै विषयले प्राथमिकता पाउने छन् ।


