काठमाडौंको टोखा नगरपालिका–२, पञ्चेटारमा दुई वटा मोटरसाइकल एकआपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।
महानगरीय प्रहरी वृत्त, महाराजगञ्जका अनुसार आइतबार बिहान साढे ५ बजे भएको दुर्घटनामा दुवै मोटरसाइकलका चालकको मृत्यु भएको हो । सामाखुशीबाट झोरतर्फ जाँदै गरेको बा ८५ प ५६६ को मोटरसाइकल अर्कोसित ठोक्किएको थियो । दुर्घटनामा पहिलो मोटरसाइकलका चालक मनोज दुलाल र दोस्रो मोटरसाइकलका चालक पासाङ तामाङको मृत्यु भएको हो ।
साथै दुर्घटनामा दुलालकी आमा मथुरा दुलाल पनि गम्भीर घाइते भएकी छिन् । उनको अहिले ग्रिनसिटी अस्पतालमा उपचार भइरहेको उनले बताए। उनका अनुसार तामाङ टोखा नगरपालिकाकै वडा नम्बर ९ का बासिन्दा हुन् भने दुलाल वडा नम्बर १ का बासिन्दा हुन्।
कोरोना महामारीको बढ्दो जोखिमसँगै लकडाउन गरिएपछि बजार, व्यवसाय र आवागमन लगभग ठप्प छ । सडकमा गाडीको चाप छैन । तर सवारी दुर्घटना र दुर्घटनामा ज्यान गुमाउनेको सङ्ख्या कम हुन सकेको छैन ।
देशमा गएको २ महिनामा मात्रै २ सयभन्दा धेरै गम्भीर दुर्घटना भएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । उहिले सवारी दुर्घटनामा दैनिक ६/७ जनाको ज्यान जाने गरेको थियो । लकडाउनको समयमा काठमाण्डौ उपत्यकामा सवारी दुर्घटनाले दैनिक २ देखि ३ जनाको ज्यान जाने गरेको छ । अहिले सडकमा गुड्ने सवारीको अनुपातमा यो सङ्ख्या निकै धेरै हो । सामान्यतया दैनिक ५ देखि ७ लाखको सङ्ख्यामा यातायातका साधन काठमाण्डौ भित्रिने र बाहिरिने गरेकामा लकडाउन सुरु भएपछि २५ देखि ३० हजारको हाराहारीमा मात्रै भित्रिने र बाहिरिने गरेका छन् ।


