जेष्ठ १३ ।
काठमाडौँबाट तीव्र गतिमा आएका दुई टिपरले एकैसाथ ठक्कर दिँदा मध्यपुरथिमि नगरपालिका–४ शङ्खधर चोकस्थित ड्युटीमा खटिएका एक प्रहरी नायब निरीक्षक को मृत्यु भएको छ । मृत्यु हुने प्रहरी ४५ वर्षीय निमबहादुर घर्ती रहेका र उनलाई गयराति नै ठक्कर दिएपनि नर्भिक अस्पतालमा उपचारका क्रममा आज बिहान उनको निधन भएको हो ।
निधन भएका प्रहरी पूर्वी रुकुमस्थित इलाका प्रहरी कार्यालय रुकुमकोटमा दरबन्दी रही महानगरीय प्रहरी वृत्त थिमिमा कार्यरत रहेका जनाइएको छ ।
राति काठमाडौँबाट तीव्रगतिमा भक्तपुरतर्फ आउँदै गरेको बा४ख ४७०१ नंको खाली टिपर र सोही टिपरको पछि–पछि आउँदै गरेको बा४ख ४३१८ नंको टिपरले थिमिचोकमा सडकको रेलिङ भाँच्दै ड्युटीमा खटिएका दाङ रामपुर स्थायी घर भएका प्रनानि घर्तीमगरलाई ठक्कर दिएको थियो ।
ठक्कर दिएर फरार भएका टिपर चालक धादिङ थाक्रे गाउँपालिका–८ बस्ने ४० वर्षीय राजेन्द्र प्याकुरेल र अर्का टिपरका चालक भक्तपुर नगरपालिका–३ का ४५ वर्षीय राकेश सैंजूलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।


