नागरिकस्तरबाट सरकारको चर्को आलोचना हुनथालेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले परामर्श थालेका छन् । लकडाउनको मोडालिटी परिवर्तन गरेर कम जोखिमका ठाउँहरुमा व्यापार, व्यवसाय खुलाउने बारे उच्च स्तरीय समन्वय समितिले गृहकार्य गरिरहेका बेला प्रधानमन्त्रीले आफै अग्रसर भएर विज्ञहरुसँग छलफल गर्न लागेका हुन् ।
नागरिकस्तरबाट सरकारविरुद्ध भएको प्रदर्शन र लकडाउनको स्वस्फूर्त उल्लंघनको घटनाबाट प्रम ओली गम्भीर बनेको स्रोतको दाबी छ । स्रोतका अनुसार प्रधानमन्त्रीले बुधबार बिहान जनताको भावनालाई बुझ्ने गरी लकडाउनको मोडालिटीको विषयमा समयमै किन काम नगरेको भन्दै उपप्रधानमन्त्री ईश्वर पोखरेल, अर्थमन्त्री डा. युवराज खतिवडालाई समेत झपारेका थिए । ओलीले आफै अगाडि सरेर विज्ञलाई बोलाएपछि प्रधानमन्त्री नै आफ्ना मन्त्रीहरुको कार्यशैलीबाट चित्त नबुझाएको आकलन गरिएको छ ।
विशेषगरी पछिल्लो समय प्रधानमन्त्री ओली अर्थमन्त्री डा. खतिवडाको कामप्रति सन्तुष्ट छैनन् । खतिवडाकै जोडबलमा आन्तरिक राजश्व विभागले जेठ २५ गतेभित्र कर बुझाउन तागेता गरी सूचना जारी गरेको थियो । यही सूचनाका कारण सम्पूर्ण निजी क्षेत्र पनि अहिले सरकार विरोधी बन्न पुगेको छ । निजी क्षेत्र नै सरकारको विरुद्धमा उत्रिएपछि ओली अप्ठ्यारोमा परेका छन् । यस्लाई साम्य पार्नु पनी ओलीको प्रथमिकतामा परेको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार अपरान्ह हुने छलफलमा स्वास्थ्य क्षेत्रका विज्ञ, अर्थविद, योजनाविद, नर्सिङ र जनस्वास्थ्य विज्ञलाई बोलाइएको छ । ओलीले मेडिकल काउन्सिलका अध्यक्ष डा. भगवान कोइराला, डा. लोचन कार्की, योजना आयोगका पूर्वउपाध्यक्षहरू शंकर शर्मा, पिताम्बर शर्मा, स्वर्णीम वाग्लेलगायत २५ जना विज्ञलाई बालुवाटार डाँकेका हुन् ।
कोभिड १९ रोकथाम, नियन्त्रणका उपायका बारेमा छलफल गर्न र लकडाउनको बारेमा सरकारलाई निर्णयका लागि सुझाव दिन विज्ञहरुलाई बोलाइएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले बताए ।


