२२ जेठ, काठमाडौं ।
आज बिहीबार मन्त्रिपरिषद् बैठक बस्दैछ । आज अपराह्न ४ बजे प्रधानमन्त्री निवास बालुवाटरमा मन्त्रिपरिषद बैठक बोलाइएको छ । ७३ दिनदेखि जारी लकडाउनले जनजीवन कष्टकर बनेपछि आजको मन्त्रिपरिषद बैठकमा लकडाउनका विषयमा निर्णय हुने बताइएको छ।
प्रधानमन्त्री केपी ओलीले विभिन्न क्षेत्रका विज्ञसँग बुधबार साँझ झण्डै चार घण्टा परामर्श बैठक गरेका छन् । विज्ञको सुझाबअनुसार प्रधानमन्त्री ओलीले लकडाउनको मोडालिटी परिवर्तन गर्न सक्ने जनाइएकाे छ।
आजको बैठकमा स्वास्थ्य इमरर्जेन्सीको बारेमा छलफल केन्द्रित हुने स्रोतको दाबी छ । मन्त्रालय संक्रमितको संख्या बढदै जाँदा उपचारका लागि स्वास्थ्यकर्मी, अस्पतालमा बेड, आइसोलेसन, भेन्टिलेटर, अक्सिजन नपुग्ने भएपछि स्वास्थ्य संकटकाल घोषणा गर्ने तयारीमा पुगेको छ । मन्त्रालयले संक्रमितको संख्या बढे स्वास्थ्य संकटकाल घोषणा गर्ने प्रस्ताव मन्त्रिपरिषदमा लैजाने निर्णय गरिसकेको छ । हिजै स्वास्थ्य मन्त्रालयले होम क्वारेन्टिनसम्बन्धी निर्देशिका पनि जारी गरिसकेको छ ।


