एजेन्सी – कोरोना महामारीका कारण थलिएको अमेरिकाले साना व्यवसायीलाई शतप्रतिशत ऋण मिनाहा गर्ने विधेयक संसद्बाट पारित गरेको छ । कोरोना महामारीका कारण आर्थिक मारमा परेका व्यवसायीले प्राप्त गर्ने ऋणसम्बन्धी विधेयक अमेरिकी संसद्को दुवै सदनबाट पारित भएको हो । गत साता प्रतिनिधिसभाबाट बहुमतका साथ पारित भएको यो विधेयक सिनेटबाट पनि भारी बहुमतले पारित भएको छ ।
अमेरिकी राष्ट्रपतिले हस्ताक्षर गरेपछि यो कार्यन्व्यनमा आउनेछ । पीपीपी नाम दिइएको यस प्रकारको ऋणबाट साना व्यवसायी प्रत्यक्ष लाभाविन्त हुनेछन् ।
साना व्यवसायीले पेचेक प्रोटेक्सन प्रोग्राम अर्थात् कामदारका लागि दिइने तलबबापत ऋण पाउनेछन् । यो ऋण कामदारका लागि तलब, किस्ता, ब्याज, बिजुली र घरभाडामा प्रयोग गर्न सकिनेछ । हालसम्म लाखौं व्यवसायीले यो सुबिधा उपभोग गरिरहेका छन् । यसरी पाउने ऋण शतप्रतिशत मिनाहासमेत हुन सक्नेछ जनाइएको छ । पीपीपी अन्तर्गतको रकम ८ हप्ताको सट्टा २४ हप्ताभित्र प्रयोग गर्न सक्ने प्रावधान छ । यो विधेयकले तत्काल कामदार फिर्ता बोलाउन नसक्ने र व्यवसाय खोल्न नसक्ने व्यवसायीलाई प्रत्यक्ष फाइदा पुग्नेछ ।
यसप्रकारको रकमतलबमा ७५ प्रतिशत खर्च गरेमा ऋण मिनाहा हुने प्रावधानमा लचकता अपनाएर ६० प्रतिशत रकम तलबमा खर्च गरेमा ऋण मिनाहा हुने व्यवस्थासमेत थप गरेको छ । बाँकी ४० प्रतिशत रकम किस्ता, ब्याज, बिजुली र घरभाडामा प्रयोग गर्न सकिनेछ । यसरी ६० र ४० प्रतिशतको प्रावधानमा रहेर रकम खर्च गरेमा ऋण शतप्रतिशत मिनाहा हुनेछ । यो प्रावधान अनुसार व्यवसायीले १ लाख अमेरिकी डलरको ऋण पाउनेछन् ।
कोरोनाको महामारीबाट अर्थतन्त्रलाई माथि उठाउन सरकारले विभिन्न प्याकेज ल्याएको छ । हाल बेरोजगार भत्ताबापत अमेरिकाले आफ्ना करदातालाई प्रतिव्यक्ति हप्ताको १ हजार डलरसम्म रकम दिइरहेको छ ।


