काठमाडौं । विदेशबाट आउने नेपाली यात्रुलाई क्वारेन्टिनमा राख्नका लागि सरकारले चार तारे होटलदेखि पर्यटक स्तरीय होटलसम्म ४७ वटा होटल तथा रिसोर्टको नाम सार्वजनिक गरेको छ ।
जिल्ला प्रशासन कार्यालय काठमाडौंले ३ वटा चार तारे, ९ वटा ३ तारे, २ वटा दुई तारे, ५ वटा एक तारे, एउटा रिसोर्ट, २७ वटा पर्यटक स्तरीय होटल तथा रिसोर्टका नाम सार्वजनिक गरेको हो ।
नेपालका लागि रोजगारीका प्रमुख गन्तव्य मानिएका ६ मुलुकबाट मात्रै झण्डै ४० हजार नेपालीलाई फर्किने सूचीमा छन् । यी देशस्थित नेपाली दूतावासले तत्काल फर्किनुपर्ने नेपालीको विवरण संकलन गरेर पठाएका छन् ।
कतार, मलेसिया, साउदी अरब, यूएई, बहराइन र ओमानबाट मात्र ३९ हजार ४ सय २० जना फर्किनै पर्ने अवस्थामा रहेको दूतावासहरुको तथ्यांक छ । दूतावासहरुले परराष्ट्र मन्त्रालयमा दिएको जानकारी अनुसार सबैभन्दा बढी युएईबाट नेपाली फर्किन चाहेका छन् ।
यूएईमा मात्रै १७ हजार ३ सय ७५ जना नेपाली फर्किनुपर्ने अवस्थामा छन् । यस्तै कतारबाट ८ हजार ३ सय ७० जना नेपालीले फर्किन फारम भरेका छन् । साउदीबाट ६ हजार ५ सय ४४ जना र मलेसियाबाट ६ हजार २ सय नेपाली फर्किने भएका छन् । यस्तै ओमानबाट ६ सय ५६ र बहराइनबाट २ सय ८५ जना नेपालीले फर्किन फारम भरेका छन् । यी छ देश बाहेक अन्य देशबाट पनि झण्डै सोही परिमाणमा नेपाल फर्कने अनुमान परराष्ट्र मन्त्रालयको छ ।


