विश्वब्यापी कोरोना संक्रमणको प्रभाबले ठप्प झैं भएको बैदेशिक ब्यापरमा केही सुधार आएको छ ।
लकडाउन घोषणा भएपछि दैनिक ५० देखि ६० करोड रुपैयाँको मात्रै वस्तु आयात हुने गरेकोमा पछिल्लो समय दैनिक ३ अर्ब रुपैयाँको पुगेको भन्सार विभागले जनाएको हो ।
सामान्य अवस्थामा देशभरका भन्सारबाट दैनिक ५ अर्ब रुपैयाँको आयात हुने गरेको छ । अहिले औसतमा दैनिक ३ अर्ब रुपैयाँको आयात भइरहेको र यो पहिलेको तुलनामा ६० प्रतिशतको हिस्सा भएको पनि भन्सार विभागले जनाएको छ । भन्सार विभागका महानिर्देशक सुमन दाहालले वैदेशिक व्यापार सामान्य अवस्थातर्फ गइरहेको बताएका छन् ।
चैत ११ गतेयता देशमा १ खर्ब १० अर्ब रुपैयाँको वस्तु आयात आयात भएको छ । यो अवधिमा १ अर्ब ७ करोड रुपैयाँको औषधीको कच्चा पदार्थ भित्रिएको छ भने ४ अर्ब ६ करोड रुपैयाँको तयारी औषधी आयात भएको छ ।
यस्तै १३ करोड ९७ लाख रुपैयाँको डिजल, ६ करोड १ लाख रुपैयाँको पेट्रोल, ८ करोड २७ लाख रुपैयाँको खाना पकाउने एलपी ग्यास आयात भएको छ ।


